७३औं विश्व कुष्ठरोग निवारण दिवस : म्याग्दीमा पत्रकार तथा सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम

470
Shares

म्याग्दी।

‘कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद प्रमुख चुनौती’ भन्ने मूल नारासहित यसवर्ष ७३औं विश्व कुष्ठरोग निवारण दिवस मनाइएको छ । यसैक्रममा आइतबार प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा पत्रकार तथा सरोकारवालाहरुसँग अन्तर्क्रिया तथा छलफल गरिएको हो ।

कार्यक्रममा प्रदेश अस्पताल बेनी म्याग्दीका निमित्त प्रमुख मेडिकल सुपरिनटेन्डेन्ट डाक्टर हेमन्त बाँस्तोलाले कुष्ठरोगको परिचय, कारण र उपचार व्यवस्थापनको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरुको बारेमा जानकारीसहित आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहजीकरण गर्दै कार्यालय प्रमुख ठकुराठीले समुदायमा कुष्ठरोगको विरुद्ध सचेतना फैलाउन राजनीतिक प्रतिबद्धता एवं कार्यक्रमहरु सञ्चालन गर्नका लागि बजेट व्यवस्थापन, सरोकारवाला निकाय र अन्य साझेदार संघसंस्थाहरुबाट सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कुष्ठरोगका बिरामीहरुलाई लाग्ने गरेको सामाजिक लाञ्छना र विभेदको अन्त्य गर्न जरुरी रहेको बताउँदै अहिले पनि कुष्ठरोग नियन्त्रण गर्न पर्याप्त बजेट र कार्यक्रमहरुको अभाव रहेको जानकारी दिनुभयो ।

२१औं शताब्दीको युग समाजमा अझै पनि लाञ्छना, विभेद र भेदभावको कारणले गर्दा कुष्ठरोग समस्याको रुपमा रहेकाले बाहिर आउन नसकेको बताउँदै प्रमुख ठकुराठीले पछिल्लो समय समाजमा लुकेर बसेको भएर पनि नयाँ रोगीहरुको पहिचान हुन नसकेको बताउनुभयो । कार्यक्रममा सहजीकरण गर्दै प्रदेश अस्पताल म्याग्दीका प्रमुख डा। बाँस्तोलाले रोग लुकाएर बस्नुभन्दा नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गरेमा कुष्ठरोग लाग्न र फैलनबाट बच्न सकिनेमा जोड दिनुभयो । उहाँले समुदाय, परिवार वा छरछिमेकमा कसैलाई पनि कुष्ठरोग हुन सक्ने भएकाले समयमै पहिचान गरेर उपचार गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै यसका लागि सरोकारवाला निकायसहित सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

औषधी सेवनले निको हुने भए पनि समाजमा विभेद र लान्छनाको कारणले कुष्ठरोगीहरु खुल्न सकेका छैनन् । औषधी सेवन गरी निको भएका बिरामीलाई समेत समाजले हेर्ने दृष्टिकोणले समाजमा अझै पनि रोग लुकाउने, लुकिछिपी बस्ने, बाहिर खुलेर कुरा नगर्ने अवस्थामा रहेको बताइएको थियो । तथ्याङ्क अनुसार म्याग्दीमा कुष्ठरोग उन्मुलनको रुपमा रहेपनि समुदायस्तरमा अझै रोगीहरुको पहिचान हुन नसकेको हो । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र०८३ को हालसम्म एकजना मात्रै नयाँ कुष्ठरोगीको पहिचान भएको छ । नयाँ रोगीसहित पुरानो ३ जनाले अहिले नियमित रुपमा औषधी सेवन गरिरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर एवं सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार म्याग्दी जिल्लामा आर्थिक वर्ष ०८१र८२ मा ५ जना, आव ०८०र८१ मा पनि ५ जना, आव ०७९र०८० मा ३ जना, आव ०७८र७९ मा शुन्य र आव ०७७र७८ मा ७ जना कुष्ठरोगीहरु पहिचान भएका थिए । पहिचान भएका नयाँ बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेपनि अझै कुष्ठरोगका बिरामीहरु लुकाउने गलत मानसिकता समाजमा कायमै रहेको पाइन्छ । चालु आवमा पहिचान भएका एकजना नयाँ बिरामी मालिका गाउँपालिकाको भएकाले दरबाङ आधारभूत अस्पतालमा र पर्वत जिल्लाका दुईजना पुरानो बिरामीले प्रदेश अस्पताल बेनी म्याग्दीबाट नियमित रुपमा औषधी लिइरहेका छन् ।

प्रति १० हजार जनसंख्यामा १ जनालाई कुष्ठरोग लाग्ने गरेको तथ्याङ्कमा देखिन्छ । म्याग्दीको कुल जनसंख्याको तुलनामा बिरामीको संख्या कम भए पनि सचेतना र बिरामीको पहिचान तथा सम्मानमा समाजले धेरै भूमिका खेल्ने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध समेत गरिएको छ । कतिपय कुष्ठरोगीहरुले सामाजिक बहिस्कार र वंशाणुगत रोगको रूपमा बुझ्ने गरेकाले पनि रोग पहिचान तथा रोकथाममा समस्या भैरहेको प्रदेश अस्पताल म्याग्दीका प्रमुख बाँस्तोलाको भनाइ छ ।

माईकोव्याक्टेरियम लेप्रे नामक किटाणुको माध्यमबाट सर्ने कुष्ठरोगको औषधी र उपचार स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा उपलब्ध रहेको छ । कुष्ठरोगको लक्षणहरु छालामा रातो वा हल्का फूस्रो रङको दाग देखिने, अनुहार तथा छाला बाक्लो हुने, गिर्खा देखापर्छ भने स्नायु प्रणालीमा समेत असर गर्ने हुँदा हातखुट्टामा छुँदा थाहा नपाउने र मांसपेशी कमजोर बन्छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख ठकुराठीको अध्यक्षता र सूचना अधिकारी सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।