ओलम्पिकमा क्रिकेटरका रूपमा फर्कन बोल्टको चाहना


लन्डन, (एजेन्सी) ।

विश्वकै तीव्र गतिका धावक उसेन बोल्टले सन् २०२८ को लस एन्जलस ओलम्पिकमार्फत पुनरागमन गर्ने संकेत दिएका छन् ।
यसपटक उनी ट्रयाक एन्ड फिल्डमा नभई क्रिकेट मैदानमा ब्याट र बलका साथ देखिने सम्भावना बढेको छ । १ सय २८ वर्षपछि ओलम्पिकमा क्रिकेट खेलको पुनरागमन हुन लागेको सन्दर्भमा बोल्टले आफ्नो बाल्यकालको रुचि र खेललाई निरन्तरता दिने इच्छा व्यक्त गरेका हुन् ।

एथ्लेटिक्सको दुनियाँमा पाइला टेक्नुअघि बोल्ट जमैकाको विद्यालयस्तरमा एक प्रभावशाली तीव्र गतिका बलरका रूपमा परिचित थिए । उनको गति देखेर नै तत्कालीन प्रशिक्षकले उनलाई क्रिकेटबाट ट्रयाक एन्ड फिल्डतर्फ लाग्न सुझाव दिएका थिए, जसले उनलाई विश्व कीर्तिमानी धावक बनायो ।

व्यावसायिक एथ्लेटिक्सबाट सन्यास लिइसके पनि क्रिकेटप्रतिको लगाव अझै बाँकी रहेको भन्दै उनले जमैका क्रिकेट बोर्ड वा वेस्ट इन्डिजले अवसर दिएमा आफू मैदानमा उत्रन तयार रहेको स्पष्ट पारेका छन् । सन् १९०० पछि पहिलो पटक ओलम्पिकमा समावेश गरिएको क्रिकेट विधामा सन् २०२८ मा पुरुष र महिलातर्फ ६–६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जमैकाका यी भेट्रान सुपरस्टारले यदि क्रिकेटमा मौका पाए भने त्यो खेल जगतकै लागि एक ऐतिहासिक र रोमान्चक पुनरागमन हुने निश्चित छ । उनको यो संकेतले अहिले विश्वभरका खेलप्रेमी माझ नयाँ कौतुहलता र चर्चा पैदा गरेको छ ।