बर्सेनि ५.४ प्रतिशतले बढ्यो सडक दुर्घटना


काठमाडौं ।

नेपालमा सडक दुर्घटनाको अवस्था दिनानुदिन भयावह बन्दै गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सडक सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नेपालमा सडक दुर्घटना बर्सेनि औसत ५.४ प्रतिशतका दरले बढिरहेको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्री डा. सुधा गौतमले सडक दुर्घटना हाल देशको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा खडा भएको बताउनुभयो । उहाँले विशेष गरी युवा पुस्ता यसबाट सबैभन्दा बढी प्रभावित भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेपालमा हुने कुल सडक दुर्घटना र मृत्युमध्ये झन्डै आधा हिस्सा मोटरसाइकल र स्कुटर प्रयोगकर्ताको रहेको छ । विज्ञहरूका अनुसार टाउकोमा लाग्ने चोट नै मृत्युको मुख्य कारण बन्ने गरेको छ ।

यस जोखिमलाई कम गर्न चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा गुणस्तरीय हेल्मेट लगाउनुपर्ने ‘युनिभर्सल हेल्मेट ल’ तुरुन्तै लागू गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल नेपालमा चालकका लागिमात्र हेल्मेट अनिवार्य छ, जसले गर्दा पछाडि बस्ने यात्रु उच्च जोखिममा रहने गरेका छन् ।

मानवीय क्षतिसँगै यसले देशको अर्थतन्त्रमा पनि अपूरणीय धक्का पु¥याएको छ । तथ्यांकअनुसार सडक दुर्घटनाका कारण नेपाललाई वार्षिक करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने गरेको छ । यो रकम नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै ७ प्रतिशत हो ।

सरकारले सन् २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदरलाई आधा घटाउने लक्ष्य राखेको छ । तर, वर्तमान ५.४ प्रतिशतको वृद्धिदर कायम रहे यो लक्ष्य भेटाउन निकै चुनौतीपूर्ण हुने विज्ञहरूको विश्लेषण छ ।