अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरियो

752
Shares

काठमाडौं ।

संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट औपचारिक रूपमा बहिरिएको छ । यो निर्णय बिहीबारदेखि नै लागू भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२५ जनवरी २० मा कार्यकारी आदेशमार्फत् यो बहिर्गमनको सूचना दिनुभएको थियो । अमेरिकी कानुनअनुसार एक वर्षको सूचना अवधि पूरा भएपछि त्यो निर्णय प्रभावी हुन्छ ।

ट्रम्प प्रशासनले डब्लूएचओले कोभिड–१९ महामारीको गलत व्यवस्थापन गरेको, आवश्यक सुधार नगरेको तथा केही सदस्य राष्ट्रहरूको राजनीतिक प्रभावमा परेको आरोप लगाउँदै यो कदम चालेको छ । साथै, ट्रम्प प्रशासनले अमेरिकाले डब्लूएचओलाई अत्यधिक योगदान दिनुपरेको र चीनजस्ता ठूला जनसंख्या भएका देशले कम योगदान गरेको पनि दाबी गरेको छ ।

यो निर्णयले अमेरिकी स्वास्थ्य प्रणालीमात्र नभई विश्वव्यापी स्वास्थ्य सुरक्षालाई गम्भीर जोखिममा पार्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ । डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यस महिनाको सुरुमा पत्रकार सम्मेलन गरी अमेरिकालाई आफ्नो निर्णयमा पुनर्विचार गरी डब्लूएचओमा फर्किन आग्रह गर्दै भन्नुभएको थियो– ‘डब्लूएचओबाट बाहिरिनु अमेरिका र बाँकी विश्व दुवैका लागि घाटाको विषय हो ।’

जर्जटाउन विश्वविद्यालयका प्रोफेसर लरेन्स गोस्टिनले यो कदमलाई ‘अमेरिकी कानुनको स्पष्ट उल्लंघन’ भन्नुभएको छ । अमेरिकी कानुनअनुसार बहिर्गमनका लागि एक वर्षअगाडि सूचना दिनुका साथै सबै बाँकी शुल्क तिर्नुपर्ने प्रावधान छ । तर, अमेरिकाले सन् २०२४ र २०२५ का लागि तिर्नुपर्ने करिब २६ करोड अमेरिकी डलर (लगभग २६० मिलियन डलर) शुल्क अझै तिरेको छैन ।

अमेरिका परम्परागत रूपमा डब्लूएचओको सबैभन्दा ठूलो दाता रहँदै आएको छ, जसले संस्थाको कुल बजेटको करिब १८ प्रतिशत योगदान दिन्थ्यो । यो बहिर्गमनले डब्लूएचओलाई गम्भीर बजेट संकटमा धकेलेको छ । संगठनले आफ्नो व्यवस्थापन टोली आधा घटाइसकेको छ भने विभिन्न कार्यक्रमहरूमा कटौती गरेको छ । यस वर्षको मध्यसम्म करिब २५ प्रतिशत कर्मचारी कटौती गर्ने जनाइएको छ ।

ब्लुमवर्ग फिलान्थ्रोपीजकी सार्वजनिक स्वास्थ्य कार्यक्रम प्रमुख केली हेनिङले अमेरिकाको बहिर्गमनले विश्वले स्वास्थ्य खतराहरू पहिचान, रोकथाम र प्रतिक्रिया दिन प्रयोग गर्दै आएका प्रणाली तथा सहकार्यलाई कमजोर बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

डब्लूएचओका प्रवक्ताले इमेलमार्फत जानकारी दिएअनुसार फेब्रुअरीमा हुने कार्यकारी बोर्ड बैठकमा अमेरिकी बहिर्गमन र यसको व्यवस्थापनबारे छलफल हुनेछ । अमेरिकी विदेश मन्त्रालयले भने शुल्क नतिरी बहिर्गमन सम्भव छ कि छैन तथा यसले विश्वव्यापी सहकार्यमा पार्ने असरबारे प्रश्नमा कुनै प्रतिक्रिया दिएको छैन ।

विश्व आर्थिक मञ्चको दाओस बैठकमा बोल्दै बिल गेट्सले अमेरिका छिट्टै डब्लूएचओमा फर्किन्छ भन्ने आफूलाई विश्वास नलागेको तर अवसर पाएमा आफूले यसका लागि वकालत गर्ने बताउनुभएको थियो । उहाँले अहिले विश्वलाई विश्व स्वास्थ्य संगठनको आवश्यकता रहेको जिकिर गर्दै अमेरिका यसमा फर्कनुपर्ने धारणा राख्नुभएको थियो ।

ट्रम्पले सन् २०२० मा राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा पनि डब्लूएचओबाट बहिर्गमनको प्रयास गर्नुभएको थियो तर जो बाइडेन प्रशासनले सन् २०२१ मा फिर्ता लिएको थियो । तर, दोस्रो कार्यकालमा ट्रम्पले यो प्रक्रियालाई पुनः अगाडि बढाएको हो ।