काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित ९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको र गलत लिखत तयार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार बाँकेको नेपालगञ्जस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रक्रियामा संलग्न भएको भन्दै केसीसहितका कर्मचारी र बिचौलियालाई प्रतिवादी बनाइएको छ ।
आयोगले प्रमुख मालपोत अधिकृत केसीविरुद्ध २२ लाख ४२ हजार ७ सय २० रुपियाँ, तत्कालीन मालपोत अधिकृत अशोककुमार भट्टराईविरुद्ध २० लाख ८७ हजार २ सय ५९ रुपियाँ, नायब सुब्बा ताराप्रसाद खनालविरुद्ध २२ लाख ४२ हजार ७ सय २० रुपियाँ बिगो कायम गरेको छ ।
त्यसै गरी, तत्कालीन गाविस सचिव मानबहादुर बोगटीविरुद्ध २२ लाख ४२ हजार ७ सय २० रुपियाँ, नायब सुब्बा कर्णबहादुर पुनविरुद्ध २० लाख ८७ हजार २ सय ५९ रुपियाँ, वडा नम्बर २ का लिलावती कैरातीविरुद्ध २४ लाख ६७ हजार ७२० रुपियाँ, स्थानीय वीरेन्द्रकुमार कुर्मीविरुद्ध १८ लाख ६२ हजार २ सय ५९ रुपियाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा वीरेन्द्रकुमार कुर्मी, सावित्री देवी कुर्मी र राजिया बेगमको नाउँमा नामसारी गरिएको सरकारी सार्वजनिक कायम हुने जग्गा प्रचलित कानुनबमोजिम जफत हुनसमेत माग गरिएको छ । सावित्री देवी कुर्मी र राजिया बेगमलाई जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानका क्रममा सरकारी स्वामित्वमा रहेको जग्गालाई नक्कली कागजपत्र र गलत लिखत खडा गरी व्यक्तिको नाममा दर्ता कायम गरेको पुष्टि भएपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको थियो । आयोगले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको हो । मालपोत अधिकृत केसीले आफ्नो पदको दुरुपयोग गरी राज्यलाई ठूलो आर्थिक क्षति पु¥याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
जग्गा प्रशासनमा हुने अनियमिता रोक्न अख्तियारले पछिल्लो समय सक्रियता बढाएको छ । यस्ता मुद्दाहरू दायर गर्ने क्रम पछिल्ला दिनमा बढेको पाइएको छ ।











प्रतिक्रिया