वसन्त पञ्चमी यानि विद्याकी देवी सरस्वती देवीकोे दिन हो । यस वर्षको वसन्त पञ्चमी दिन आज माघ ९ गते शुक्रबार परेको छ । हरेक वर्ष माघ शुक्ल पक्ष पन्चमी तिथिमा वसन्त पंचमीको पर्व मनाइन्छ । वसन्त पंचमीको पर्व विद्या, बुद्धि र ज्ञानकी देवी माता सरस्वतीमा समर्पित गरिन्छ । यस दिन घर, विद्यालय र कलजेहरूमा सरस्वती देवीको पूजा आराधना गरिन्छ ।
मान्यता यो छ कि वसन्त पंचमीको दिन सरस्वती माताको आराधना गर्नाले बुद्धि विकास हुन्छ, पढाइ र करिअरमा अगाडि बढ्न बाटो खुल्छ । साथै ज्ञान प्राप्त पनि हुन्छ । विद्यार्थी, शिक्षक, लेखक, कलाकार र संगीतसँग सम्बिन्धित व्यक्तिहरू यस दिन खासगरी माता शारदाको पूजा गर्दछन् ।
धार्मिक मान्यताअनुसार वसन्त पंचमीको दिनमा माता सरस्वतीको १०८ नामले जप गर्नाले धेरै शुभ हुनेछ । भनिन्छ कि १०८ नामको स्मरण गर्दा मानसिक शान्ति प्राप्त हुन्छ, नकारात्मक सोचाई सबै निष्क्रिय हुन्छ र साथै पूजाको फल पनि प्राप्त हुन्छ । यसको साथै जीवनमा सकारात्मक सोच र एकाग्रता पनि बढ्छन् । १०८ सरस्वती माताको नाम लिन गाह्रो हुने भएकोले विद्यार्थीहरूले तल उल्लेख गरिएको श्लोक पूजामा पढ्न सकिन्छ । यो श्लोक अक्सर विद्यालयहरूमा पढ्ने गरेको पनि पाइन्छ ।
ॐ सरस्वती मया दृष्ट्वा, वीणा पुस्तक धारणीम् ।
हंस वाहिनी समायुक्ता मां विद्या दान करोतु में ॐ।।
सरस्वती मन्दिरहरूमा भीड लाग्ने गर्छ
वसन्त पंचमीको दिनमा जति पनि सरस्वती माताको मन्दिरहरू छन्, त्यस मन्दिरहरूमा भीड लाग्ने गर्दछ । यस दिन खासगरी विद्यालय र कलेजका विद्यार्थीहरूको भीड लाग्ने गर्दछ । जस्तै, स्वयम्भू, ज्ञानेश्वर, भक्तपुरका सरस्वती मन्दिरहरूमा विद्यार्थीहरू र भक्तजनहरूको भीड लाग्ने गर्दछ ।
यस्तै, ललितपुरको लेलेस्थित नीलसरस्वतीको मन्दिर, मैतीदेवी मन्दिर, पोखराको विन्ध्यवासिनी जस्ता शक्तिपीठहरूमा पनि भीड लाग्ने गर्दछ । यस्तै, टोल टोलमा भएका सरस्वती माताका मन्दिरहरूमा पनि विद्यार्थीहरूले पूजा आराधना गर्दछन् । विद्यालय तथा कलेजहरूमा पनि मूर्ति वा फोटोमा सरस्वती पूजा विशेष गरिन्छ ।
साथै यसै दिनदेखि लेख्न पढ्न शुरु गर्ने स–साना बालबालिकाहरूलाई अक्षर लेखाउन र चिनाउन थालनी पनि गर्दछन् । मन्दिर वरिपरिको भित्तामा वा घरको पूजा घरको भित्तामा बालबालिकाहरूलाई पहिलो पटक लेखाउन चलन रहेको छ । अक्षर चकले लेखाइने गर्दछ । यो परम्परा पहिलेदेखि नै चल्दै आएको पनि हो ।
यस दिन विद्यार्थीहरूले कलम, किताब, कापी पनि पूजा गर्ने चलन रहेकोे छ । आजभोलि चाहिँ यसै दिन विद्यालयहरूले निशुल्क भर्ना लिने चलन पनि बढ्दै आएको छ । किनभने यस दिन अक्षर आरम्भ गर्नु निकै फलदायक र शुभ मानिन्छ ।











प्रतिक्रिया