एउटा अनाथालयमा करिब २२ वर्ष अघि एक नवजात शिशु आफ्नो भाग्यबाट बेखबर निदाइरहेको थियो । उसलाई न त आफू कहाँ छ भन्ने थाहा थियो, न त भविष्यको कुनै खाका बारे ज्ञान । त्यो बालक समयसँगै आज तेन्जिङ बर्टिन राई बनेको छ । नेपाली स्पोट्र्स क्लाइम्बिङ इतिहासमै सबैभन्दा प्रेरणादायी र असाधारण नाम । उनको जीवनयात्रा केवल खेलकुदको सफलताको कथा मात्र होइन, यो त अभाव, पीडा, जोखिम र सपनाबीचको एउटा गहिरो मानवीय संघर्ष हो, जसले आज हजारौं नेपाली युवालाई “उचाइ” मा हेर्न बाध्य बनाएको छ ।
तेन्जिङको जीवनले सुरुवातमै उनलाई अनाथालयसम्म पु¥यायो । अनाथालय उनका लागि घर बन्यो, जहाँ उनले जीवनका पहिलो दुई वर्ष बिताए । कतिपय प्रश्नहरू आज पनि उनको जीवनमा अनुत्तरित छन् । तर, जीवनले कहिलेकाहीँ सबै उत्तरहरू कागजमा होइन, कर्ममा लेखिदिन्छ । त्यस्तै, एक दिन एकजना मनकारी व्यक्तिले धर्मपुत्रको रुपमा ग्रहण गर्दै त्यो दुई वर्षको बालकलाई आफ्नो काखमा समेटिन् । त्यही दिनदेखि एउटा बेवारिसे बालकले अभिभावक पायो । पहाड, हिमाल, चट्टानसँग पैंठेजोरी खेल्ने ट्रेकिङ गाइड पेशाका ती अभिभावकको छत्रछायामा हुर्केका तेन्जिङको बालमनमा पनि उचाइप्रतिको आकर्षण अंकुरित भयो । आठ वर्षको उमेरमा ती अभिभावकले उनलाई धुम्बाराहीस्थित पासाङ ल्हामु बाल क्लाइम्बिङ सेन्टरमा पु¥याए ।
उद्देश्य साधारण थियो, स्कुलपछि छोरो खाली नबसुन । तर, त्यो दिन तेन्जिङले पहिलो पटक चट्टानी ढाँचामा निर्मित कृत्रिम भित्तामा हात बढाउँदा एक अपनत्व महसुस गरे । त्यो केवल खेल थिएन, त्यो उनको स्वभाव, उनको शरीर र उनको मनसँग मेल खाने संसार थियो । दश वर्ष नपुग्दै उनले सिनियर खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न थाले । धेरैले उनलाई ‘नेचुरल ट्यालेन्ट’ भने, तर त्यो प्रतिभा रातारात जन्मिएको थिएन । त्यो युट्युबबाट सिकिएका कदमहरू, कोठाभित्र घण्टांै गरिएका अभ्यास र अभिभावकको मौन त्यागको नतिजा थियो ।
पढाइमा उनी औसत थिए । काष्ठमण्डप विद्यालयदेखि ए–लेभल्स पढ्दासम्म उनको मन सधैँ डोरी, ग्रिप र भित्तामै अल्झिरहन्थ्यो । यसप्रतिको आकर्षण यतिसम्म भयो कि ए–लेभल्स बीचमै छोडेर दुबई जाने निधो गरे । किशोर अवस्थामा, अन्य युवाले झैं उनले पनि भविष्यका योजना बुन्नु स्वाभाविक हो । तर, दुबई उनका लागि कठिन विश्वविद्यालय बन्यो । उनले संसारकै सबैभन्दा जोखिमपूर्ण पेशामध्येको एक ‘रोप एक्सेस टेक्निसियन’ को तालिम लिए । ५० डिग्री हाराहारीको असह्य गर्मीमा तेन्जिङ संसारकै अग्लो रोटेपिङमा डोरीको भरमा झुन्डिएर चिम फिट गर्नेदेखि मर्मतका काम गर्थे । नेपालमा राष्ट्रिय च्याम्पियन भइसकेको खेलाडी जब दुबईको बुर्ज खालिफा जस्तो अग्लो भवनमा झुन्डिएर काम गर्न बाध्य हुन्छ, त्यो चोट आत्मसम्मानमा गहिरिएर पर्छ । तर, उनले हार मानेनन् । अनुशासन, इमानदारी र कठोर परिश्रमबाट उनले सहकर्मी र त्यहाँ रहेको एउटा फ्रेन्च कम्पनीको सम्मान जिते । शरीर थकाइले गल्दा पनि हप्ताको एक दिन टाढाको जिममा पुगेर क्लाइम्बिङ गर्थे । किनकि, उचाइ चढ्ने नशा उनको रगतमा मिसिसकेको थियो ।

एक दिन, दुबईमा काम गर्दैगर्दा मनमा चलेको एउटा खुल्दुलीले उनलाई झस्कायो । उनले बुझ्दै गए, पैसाले सुविधा त दिन्छ, तर खुसी र आत्मसन्तुष्टि दिन सक्दैन । त्यही क्षण उनले नेपाल फर्कने र क्लाइम्बिङमै जीवन सुम्पिने निर्णय गरे । सन् २०२४ मा नेपाल फर्किँदा उनीसँग ठूलो योजना थिएन, केवल दृढ निश्चय थियो । फर्किएलगत्तै राष्ट्रिय च्याम्पियनसिपमा सहभागी भएर पहिलो स्थान हासिल गरे । त्यो जित केवल पदकको लागि मात्रै थिएन, त्यो उनको खेलजीवनको पुनर्जन्म थियो । आज उनी नेपाली स्पोट्र्स क्लाइम्बिङ च्याम्पियन मात्रै होइन ‘आइकन’ को रूपमा उभिएका छन् । उनको प्रतिभा र समर्पण देखेर नेपाल ओलम्पिक कमिटीले उनलाई २०२८ को लस एन्जलस ओलम्पिक छात्रवृत्तिका लागि छनोट ग¥यो । यो उपलब्धि पाउने उनी नेपालकै पहिलो स्पोट्र्स क्लाइम्बर हुन् । स्कलरसिप अन्तर्गत उनले प्रत्येक महिना १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गरिरहेका छन् । यसले केवल उनको व्यक्तिगत जीवनमा सहजता मात्र ल्याएको छैन, ओझेलमा परेको यो खेल विधाका लागि नयाँ सम्भावनाको ढोका समेत खोलेको छ ।
तेन्जिङको दिनचर्या आज कठोर अनुशासनले भरिएको छ । बिहानदेखि साँझसम्म प्रशिक्षण, फिजिकल कन्डिसनिङ र मानसिक अभ्यासमा उनी तल्लीन रहन्छन् । उनी हालै सिंगापुरमा प्रशिक्षण गरेर फर्किए, जहाँ विश्व च्याम्पियन तोमोआ नारासाकी र ओलम्पिक पदक विजेता आकिओ नोगुचीसँग प्रत्यक्ष भेटेर सिक्ने दुर्लभ मौका पाए । उनीहरूबाट पाएको सल्लाह र प्रेरणाले उनलाई अझ यस खेलप्रति भोक जगाएको छ । अब उनी चीनमा हुने विशेष विन्टर क्लाइम्बिङ क्याम्पमा सहभागी हुँदैछन् । उनको लक्ष्य स्पष्ट छ, सन् २०२८ को ओलम्पिकमा छनोट भएर नेपालका लागि ऐतिहासिक पदक जित्ने र वल्र्ड कप सिरिजमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने । खेलसँगै उनले शिक्षालाई पनि निरन्तरता दिएका छन् । हिमालयन स्कुल अफ आउटडोर रिक्रिएसनमा आउटडोर एड्भेन्चरको डिप्लोमा गरिरहेका तेन्जिङले संघर्षका दिनमा एभरेस्ट बेस क्याम्पमा भारीसमेत बोके, गाइडका सहायकसमेत बने । ती सबै उतारचढावले उनलाई मानसिक रूपमा बलियो बनायो ।
दुबईको ५० डिग्री तातो र नेपालका ठन्डा हिमाली हावाले उनलाई कहिल्यै हार नमानी अघि बढ्ने एउटै महान् पाठ सिकाए । उनको वास्तविकता केवल व्यक्तिगत सफलताको दस्तावेज मात्र होइन । यो ती हजारौँ नेपाली युवाको प्रतिनिधि आवाज हो, जो परदेशमा पसिना बगाइरहेका छन् तर मनभित्र एउटा छुट्टै सपनाको दियो बालेर बसेका छन् । “आफ्नो सपना कहिल्यै नमार्नु,”–तेन्जिङ दृढताका साथ भन्छन्,–“पैसा त जुनसुकै बेला कमाउन सकिन्छ, तर समय र अवसर फेरि आउँदैन ।” उनी अब केवल एक खेलाडी मात्र होइनन्, उनी एक प्रेरणा र एउटा जीवन्त आन्दोलन हुन् । उनी चाहन्छन् कि नेपालमा खेलकुदलाई सम्मानित र व्यावसायिक भविष्यको रूपमा हेरियोस्, ताकि कुनै पनि प्रतिभा बजेट र स्पोन्सरको अभावमा ओइलाउन नपरोस् ।
अनाथालयको एउटा कुनाबाट सुरु भएको एकजना बालकको यात्रा आज सिंगो देशको आशा बनेको छ । उनको आँखामा अझै ठूला सपनाहरू छन्, हातमा नयाँ चुनौतीका ठेलाहरू छन् र मनमा देशका लागि केही गर्ने दन्किँदो ज्वाला छ । तेन्जिङ बर्टिन राईको यो यात्रा अझै समाप्त भएको छैन । यो त केवल सुरुवात हो नेपालको झण्डा संसारका सर्वोच्च मञ्चमा फहराउने । “स्पोट्र्स क्लाइम्बिङ सँगसँगै उनको समाजसेवा गर्ने ठूलो धोको पनि छ । स्पोन्सरको राम्रो साथ र सहयोग पाएमा भविष्यमा मेस्सी र रोनाल्डोलगायत विश्वचर्चित अन्य खेलाडीले जस्तै गरिब र अनाथहरूलाई सहयोग गरेर सामाजिक कार्यमा सक्रिय हुने उनको चाहना छ ।












प्रतिक्रिया