झापाका डा. रामबाबु गिरिद्वारा एमाले परित्याग, रास्वपा प्रवेश गर्ने घोषणा


काठमाडौं। 

बिएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पताल झापाका अध्यक्ष तथा प्रख्यात चिकित्सक डा. रामबाबु गिरीले नेकपा (एमाले) परित्याग गरेका छन्  । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान सभामुख देवराज घिमिरेसँग प्रत्यक्ष भेट गरी पुराना दलहरूमा नयाँ पुस्तालाई अवसर नदिइएको भन्दै पार्टी छोड्ने निर्णय गरेको बताएका छन्  । 

डा. गिरीले भने अनुसार “जेनजी आन्दोलनपछि नै मलाई पुराना दलप्रति मन मरेको थियो । त्यतिधेरै मान्छे सहिद भए, कयौं  घाइते भए । मैले पटकपटक पार्टीमा युवा पुस्तालाई मौका दिनुपर्छ भन्दै आएका थिएँ । तर, अहिले पनि निर्वाचनमा फेरि त्यही पुराना मान्छे दोहोरिने जस्ता कार्य भए । त्यसैले मैले ओलीजी र निवर्तमान सभामुखजीलाई राखेर स्पष्ट भनेको छु – तपाईंहरूको पार्टीमा म अब बस्दिनँ ।”

उनले एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । यसअघि युवा संघका दमक नगरकमिटीका अध्यक्षसमेत रास्वपामा प्रवेश गरिसकेका छन् । डा. गिरीले रास्वपाका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई समर्थन गर्नका लागि पनि यो कदम चालेको बताएका छन्   । 

डा. रामबाबु गिरी लामो समयदेखि एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट विश्वासपात्रका रूपमा चिनिन्थे । झापाको राजनीतिमा सक्रिय रहँदै आएका  उनले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु¥याएका छन् । बिएण्डसी अस्पताललाई पूर्वाञ्चलकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा विकास गरेका  गिरीले पार्टी राजनीतिमा पनि उल्लेख्य भूमिका निर्वाह गर्दै आएका थिए ।

 रास्वपामा प्रवेश गर्ने उनको निर्णयले झापा क्षेत्र नं. ५ को राजनीतिमा नयाँ तरङ्ग ल्याउने देखिएको छ । यो क्षेत्रबाट यसअघि एमालेका तर्फबाट उम्मेदवारी दिएका गिरीले अब रास्वपाको पक्षमा सक्रिय सहयोग गर्ने बताएका छन्  । 

“पुराना दलहरूमा नयाँ पुस्तालाई अवसर नदिइने, दोहोरिने प्रवृत्तिले युवाहरू निराश भएका छन् । रास्वपाले नयाँ सोच र युवा नेतृत्वलाई प्राथमिकता दिएको छ । त्यसैले मैले यो पार्टी रोजेको हुँ,” डा. गिरीले भने । उनको यो कदमले एमालेको झापा इकाईमा पनि तरङ्ग ल्याएको छ । पार्टीका स्थानीय नेताहरूले उनलाई मनाउन प्रयास गरे पनि सफल हुन नसकेको बताइएको छ । डा. गिरीको रास्वपामा प्रवेशले राष्ट्रिय स्वतन्त्र पार्टीको झापा तथा पूर्वाञ्चलमा प्रभाव बढाउने विश्लेषकहरूले बताएका छन् । स्वास्थ्य क्षेत्रका चर्चित व्यक्तित्वको यो राजनीतिक निर्णयले आगामी निर्वाचनमा पनि प्रभाव पार्ने देखिएको छ ।