बैतडीका दुर्गम मतदानस्थलको सुरक्षा निरीक्षण


काठमाडौँ । 

बैतडी जिल्लाका दुर्गम क्षेत्रका मतदानस्थलहरूको निरीक्षण गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्त र निष्पक्ष बनाउन जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूको अवलोकन तथा निरीक्षण गरेको हो ।

निर्वाचनको समयमा मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । स्रोतसाधन व्यवस्थापन र जनशक्ति परिचालनका लागि सबै मतदानस्थलको निरीक्षण गरिएको र दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।

सुरक्षा दृष्टिकोणले जिल्लाका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र ६८ वटा सामान्य सूचीमा राखिएका छन् । निरीक्षणपछि आवश्यक सुरक्षा योजना समेत तयार भइसकेको प्रशासनले जनाएको छ ।

बैतडीमा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ भने दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको छ । निर्वाचनका लागि कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेकोमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।