सुनको भाउ तोलामा २ हजार ९ सयले घट्यो


काठमाडौं ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर रहेको छ ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।