काठमाडौँ ।
निर्वाचन आएसँगै उम्मेदवार र तीनका कार्यकर्ता मतदाताको घरघरमा पुग्छन् । मत माग्न घरघर पुग्नेलाई मतदाताले ‘हस्’ भनेरै पठाउँछन् । तर त्यो ‘हस्’ मत दिन्छु भनेको कि दिन्न भनेको उम्मेदवारले भेउ नै पाउँदैनन् । पछिल्लो समय उम्मेदवार पुग्नु भन्दा अगाडि नै मिडिया वा सोसल मिडिया मतदातासम्म पुग्न थालेको छ । सामाजिक सञ्जाल मार्फत प्रचार गरेर वा बुष्टिङ गरेर उम्मेदवार वा पार्टीले आफ्नो प्रचारप्रसार गर्ने गरेका छन् ।
थोरैतिनै भए पनि सामाजिक सञ्जालको डाटा प्रयोग गरेर आफ्नो चुनावी रणनीति तयार गर्ने र मूल्याङ्कन गर्ने गरेका छन् । यसको गतिलो उदाहरण हुन्– काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह । उनलाई नागरिकले भेट्न त परै जाओस् राम्रोसँग अनुहारसमेत हेर्न पाएका थिएनन् । तर सामाजिक सञ्जालमार्फत देशभरका नागरिकको घरघरमा र मनमनमा बस्न सफल भएका छन् । यो सामाजिक सञ्जालको करामत हो ।
आगामी फागुन २१ गते देशमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा सामाजिक सञ्जाल मात्रै नभएर एआईसमेत समावेश भएको ‘अल्ट्रा टेक्नोलोजी’ उम्मेदवार र मतदाताको घरघरमा उम्मेदवार भन्दा पहिले पुग्ने देखिएको छ । त्यसो त डिजिटल टेक्नोलोजीको होडबाजी नै हुने पनि देखिन्छ । मनोनयन दर्तासँगै कतिपय उम्मेदवारहरुले यो उच्च स्तरको प्रविधिको प्रयोग गरी निर्वाचन अभियानमा होमिएको पनि पाइएको छ ।
हालसम्म नेपालमा प्रयोग भएका चुनावी अभियान र सोसल मिडियाभन्दा फरक अन्तर्राष्ट्रिय स्तरमा अभ्यास भइरहेको डिजिटल टेक्नोलोजी नेपालमा भित्रिएको छ जसलाई ‘अल्ट्रा टेक्नोलोजी’ नाम दिइएको छ । यसमा एआईको व्यापक प्रयोग भएको हामीले पाएका छौं । जसले नेगेटिभ भोटरलाई पनि पोजेटिभ बनाउन पिछा गर्ने र गरिरहने छ । यो एरिया कमजोर छ, यी व्यक्तिहरुमा क्याम्पियन पुगेको छैन, यो सेक्टरमा ल्याक छ भनेर सिस्टमले देखाइदिने गरेको छ । यदी डिजिटल्ली मतदातामा प्रभाव पर्न सकेन भने सफ्टवेयरले नै फिजिकल्ली यो काम गर भनेर सुझाव पनि दिने गरेको छ ।
यो प्रविधिमा कन्टेन्ट, सामाजिक सञ्जालको डाटा, एलगोरिदम र एआईको कम्बिनेशन छ । पुरानो मतदानको तथ्याङ्क, सोसल मिडिया, एआई र एपको माध्यमबाट यसले काम गर्दछ । जसले बुष्टिङले भन्दा बढी प्रभावकारी ढंगले प्रचारप्रसारको काम पनि गरिरहेको देखिन्छ । त्योसँगै यो सिस्टमले माइक्रो लेभलमा सोसल मिडियाको डाटा तानेर एनलाइज गर्दछ । यसरी तानेको डाटालाई मल्टिपल एङ्गलबाट विश्लेषण गरेर ग्राफ, ग्रापिक्स र तथ्याङ्क गरी तीन तरिकाले रिजल्ट प्रस्तुत गर्ने गरेको छ । ती जेनेरेटेड विवरणहरुलाई सिस्टमले नै इमेल र ह्वाटस्एपमा पठाउने पनि गर्दछ ।
सिस्टमले राम्रा पक्ष, सुधार गर्नुपर्ने पक्ष, सम्भावना र चुनौति (स्वाट) विश्लेषण गरेर सुझावसहित प्रस्तुत गर्ने गरेको छ । यसलाई निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुले चुनावी अभियान सफल बनाउन प्रयोग गर्न सक्छन् । यसरी माइक्रो लेभलमा काम गर्ने प्रविधि अहिलेसम्म नेपालमा अभ्यास नभएको विज्ञहरु बताउँछन् ।
यो प्रविधि कसले बनायो ? अहिलेसम्म खुल्न सकेको छैन । तर हाम्रो स्रोतका अनुसार आइटी विज्ञ ज्ञानेन्द्रराज भट्टले यो प्रविधिको विकास गरेका हुन् । यो टेक्नोलोजी के हो ? भन्ने सन्दर्भमा सम्पर्क गर्दा उनी खुल्न चाहेनन् । आफूले पनि निर्वाचनसम्बन्धी सिस्टम चाहिँ बनाएको बताए पनि ‘अल्ट्रा टेक्निोलोजी’ नै आफूले बनाएको भन्ने कुरा उनले स्वीकार गरेनन् । भट्ट नेपाल सरकारको आइटी विज्ञका रुपमा समेत काम गरिसकेका व्यक्ति हुन् । उनी आइटी सेक्टरमा दश वटा विधाका अन्तर्राष्ट्रिय सर्टिफाइड इन्जिनियर पनि हुन् । हाल उनी सिस्टम बुल आइसीटी कलेजका चेयरमेन र गुना टेक्नोलोजीको सञ्चालकका रुपमा कार्यरत छन् ।











प्रतिक्रिया