लाइसेन्स परीक्षा माघ १० गते


काठमाडौं ।

नेपाल फार्मेसी परिषद्को ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षाअन्तर्गत फर्मासिस्ट (ब्याचलर इन फार्मेसी) तहको परीक्षा आगामी १० माघमा हुने भएको छ । परिषद्ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै परीक्षाको अन्तिम तयारी पूरा भएको जानकारी दिएको हो ।

परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेयका अनुसार फर्मासिस्टतर्फको परीक्षा काठमाडौंको सानो भ¥याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सञ्चालन गरिनेछ । परीक्षा बिहान ११ः०० बजे सुरु भई दिउँसो १ः३० बजे समापन हुने तालिका तय गरिएको छ । परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा एक घण्टाअगावै परीक्षा केन्द्रमा उपस्थित हुन परिषद्ले आग्रह गरेको छ ।

यसैबीच, परिषद्ले ३० औँ नाम दर्ता परीक्षाअन्तर्गत नै फार्मेसी सहायक (डिप्लोमा इन फार्मेसी) तर्फको आवेदन फारम भर्ने समयावधि १५ दिन थप गरेको छ । गत २५ पुसमा बसेको परिषद्को बोर्ड बैठकले यसअघि ५ माघसम्म तोकिएको अन्तिम मितिलाई बढाएर २० माघसम्म पु¥याउने निर्णय गरेको हो ।