स्वास्थ्य बिमा बोर्डको जिम्मेवारी हस्तान्तरण


काठमाडौं ।

सरकारले स्वास्थ्य बिमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई सुम्पेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्वविहीन अवस्थामा रहेको बोर्डलाई गति दिन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत डा. पौडेललाई ‘निमित्त’ कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

गत माघ ४ गते तत्कालीन कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएपछि बोर्ड प्राविधिक तथा प्रशासनिक रूपमा नेतृत्वविहीन बनेको थियो । बोर्डको दैनिक कार्यसम्पादन र दीर्घकालीन महत्वका निर्णयहरू प्रभावित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई जिम्मेवारी दिने निर्णय गर्नुभएको हो ।

मन्त्रालयले डा. पौडेललाई केवल प्रशासनिक कार्यका लागिमात्र नभई आर्थिक अधिकारसहितको पूर्ण जिम्मेवारी प्रदान गरेको छ । स्वास्थ्य बिमा बोर्डका कामहरूलाई चालू राख्न र दाबी भुक्तानी जस्ता संवेदनशील विषयहरूलाई नरोक्नका लागि उहाँलाई आर्थिक र प्रशासनिक दुवै अधिकार दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।