काठमाडौं ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ हजार ४ सय ८७ जना उम्मेदवारी परेकोमा पाँच जनाविरुद्ध बुधबार उजुरी परेको छ ।
यही फागुन २१ गते हुने निर्वाचनका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयनउपर दाबी विरोध गर्न अवधि तोकिएकोमा सो संख्यामा उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । देशभरिका १ सय ६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा पाँच उजुरी दर्ता भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईका अनुसार भक्तपुर–२ मा राजीव खत्री र जानुका पाठकविरुद्ध, सुनसरी–२ मा लालविक्रम थापाविरुद्ध, रौतहट–१मा माधवकुमार नेपालविरुद्ध र कैलाली–१ मा रेशम चौधरीविरुद्ध उजुरी परेको छ ।
सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाई सम्बन्धित उजुरीकर्तालाई दिएको जनाइएको छ ।
निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।











प्रतिक्रिया