अमेरिकाबाट थप ८० जना नेपाली नागरिक डिपोर्ट


काठमाडौँ।

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं ल्याइएको हो।

अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये ७९ जना पुरुष र एक जना महिला रहेका छन्। आवश्यक कागजात नहुनु, गैरकानुनी रूपमा बसोबास गर्नु तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गर्नु उनीहरू डिपोर्ट हुनुका मुख्य कारण रहेको जनाइएको छ।

स्वदेश फर्काइएका नागरिकलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो। ब्युरोका अधिकारीहरूले प्रारम्भिक सोधपुछपछि उनीहरूलाई परिवारको जिम्मा लगाएका छन्। साथै, कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको आशंका भए उजुरी दिनसमेत ब्युरोले अनुरोध गरेको छ।

यसअघि पनि अमेरिकाले विभिन्न चरणमा नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आएको छ।