सार्वजनिक–निजी सम्पत्ति तोडफोड गर्नेलाई कडाइ गर्नुपर्ने : ओली


झापा ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। गृह जिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेका हुन्।

ओलीले राष्ट्रिय सम्पत्ति, नगरपालिका भवन तथा राजनीतिक कार्यकर्ताका घर–कार्यालय जलाउनु पूर्ण रूपमा आपराधिक गतिविधि भएको बताए। अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न नहुने उल्लेख गर्दै उनले अपराध नियन्त्रण गरेर मात्रै देशलाई शान्तिपूर्ण बनाउन सकिने धारणा व्यक्त गरे। साथै, वर्तमान अन्तरिम सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप पनि लगाए।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन झापा पुगेका ओलीले आन्दोलनबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्।