पतञ्जलि जग्गा प्रकरणः माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ


काठमाडौँ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासमा सुनुवाइ हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते मुद्दा दायर गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको मागदाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको आरोप छ । ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको अभियोगमा मुद्दा दायर गरिएको हो ।