ओली र बालेनबीच प्रतिस्पर्धा

1.03k
Shares

–लिङ्देन झापा–३ बाट

भद्रपुर ।

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मंगलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्ताअघि उहाँले जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गर्नुभएको थियो । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराउनुभएको छ । झापा–५ मा प्रधानमन्त्रीसमेत भइसक्नुभएका ओली र युवा नेता बालेनको प्रतिस्पर्धा निश्चित भएको छ । राजनीतिक विश्लेषकहरूले दुवै नेताको जनसमर्थन र चुनावी रणनीतिका आधारमा यो क्षेत्रको मत विभाजन निकै प्रतिस्पर्धात्मक हुने अनुमान व्यक्त गरेका छन् ।
रास्वपा र एमालेबीच दमकमा केहीबेर विवादसमेत भएको थियो । एक अर्कोविरुद्ध नाराबाजी गरेपछि झडपको अवस्था भए पनि उग्र रूप लिएन । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बालेनले झडपप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गर्नुभयो । उहाँले शान्तिपूर्ण र मर्यादित ढंगले चुनावी प्रतिस्पर्धामा होमिने प्रतिबद्धतासमेत दोहो¥याउनुभयो । स्थानीय प्रशासनले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै दमक क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाएको छ ।

त्यसै गरी क्षेत्र नम्बर ३ मा यो पटक पनि राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिहान साढे ११ बजे मनोनयन दर्ता गराउनुभएको छ । नेता लिङ्देनले वैचारिक धारको नेतृत्व गर्ने अवसर दिने बताउनुभयो । आवश्यकका रूपमा मतदाताले हेरेकाले जित निश्चित भएको उहाँको भनाइ छ । निर्वाचनमा एमालेसँग गठबन्धन गरेको पार्टीले यो पटक छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । ३ नम्बरमा २ स्वतन्त्र र १५ राजनीतिक दलसहित १७ जनाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत डिल्ली प्रसाईंले जानकारी दिनुभयो ।

त्यसै गरी झापा–२ मा निवर्र्तमान उपसभामुख इन्दिरा राना मगर र निवर्तमान देवराज घिमिरेले उम्मेदवारी दिनुभएको छ । रानाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभएको हो । राना यो भन्दाअघि समानुपातिकमा हुनुहुन्थ्यो । त्यसै गरी घिमिरेले एमालेबाट उम्मेदवारी दिनुभएको हो । झापा–२ मा निवर्तमान सभामुख घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार झापा–२ कै स्थायी बासिन्दा हुनुहुन्छ । सोही क्षेत्रमा कानुन व्यवसायी स्वागत नेपालले पनि दोहो¥याउनुभएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएको हो । यसअघि स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

झापा–१ मा १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । झापा–१ का निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार २ स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । यो क्षेत्रमा कांग्रेसका विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएन । यो पटकको निर्वाचनमा झापा ५, ३ र २ नम्बर क्षेत्रमा बढी चासो देखिएको छ ।