सर्लाही–४ बाट गगनको मनोनयन


सर्लाही ।

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस सभापति गगनकुमार थापाले मनोनयन दर्ता गर्नुभएको छ । सभापति थापा राजधानीमा टिकट वितरणमा व्यस्त रहेका कारण नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्र सिंहलाई वारेसमार्फत उम्मेदवारी दर्ता गर्न लगाउनुभएको हो ।

सभापति थापाका तर्फबाट कांग्रेस नेता वीरेन्द्र सिंहसहितका समर्थकले क्षेत्र–४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापति थापालाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउन नेपाली कांग्रेसले यसभन्दा अघि नै क्षेत्र नम्बर–४ ले सिफारिस गरिसकेको थियोे । थापाले उम्मेदवारी दर्ता गराएपछि कार्यकर्ता उत्साहित भएको नेपाली कांग्रेसका युवा नेता रघुवीर कार्कीको भनाइ छ ।

त्यसै गरी नेकपा एमालेबाट अभिनिस यादव, नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनिस यादव, जसपा नेपालबाट रामेश्वर राय यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरेशकुमार सिंहलगायतले उम्मेदवारी दर्ता गर्नुभएको छ । अभिनिस र डा. सिंह तत्कालै पार्टी प्रवेश गरेका नेता हुन् ।