डलरको भाउ बढ्दा ७० अर्ब ऋण थपियो, सरकारको कुल ऋण २८ खर्ब ६ अर्ब


काठमाडौं।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सवा खर्ब रुपियाँभन्दा बढी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म नेपालको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब ३४ करोड रुपियाँले बढेर २८ खर्ब ६ अर्ब ३९ करोड रुपियाँ पुगेको छ ।
उक्त अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ कमजोर हुँदा ऋण दायित्व ७० अर्ब ६८ करोड रुपियाँले बढेकोे छ । नेपालले बाह्य ऋणको साँवा तथा ब्याज भुक्तानी डलरमा गर्नुपर्ने भएकाले डलर बलियो हुँदा ऋणको भार स्वतः बढ्ने गरेको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा सार्वजनिक ऋणको अनुपात ४५.९५ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण जीडीपीको २१.६० प्रतिशत र बाह्य ऋण २४.३५ प्रतिशत रहेको छ । हाल सरकारको आन्तरिक ऋण १३ खर्ब १९ अर्ब १३ करोड र बाह्य ऋण १४ खर्ब ८७ अर्ब २६ करोड रुपियाँ रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपियाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ। यसमध्ये आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब र बाह्य ऋण २ खर्ब ३३ अर्ब रुपियाँ उठाउने लक्ष्य रहेको छ । पुस मसान्तसम्म जम्मा २ खर्ब १४ अर्ब ५५ करोड रुपियाँ मात्रै ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो । यस अवधिमा आन्तरिक ऋण प्राप्ति लक्ष्यको ५९.८ प्रतिशत पुगेको छ भने बाह्य ऋण प्राप्ति १५.७९ प्रतिशतमा सीमित छ । सरकारले पुस मसान्तसम्म १ खर्ब ७७ अर्ब ७६ करोड आन्तरिक र ३६ अर्ब ८९ करोड बाह्य ऋण लिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षका लागि सरकारले ऋण खर्चमा ४ खर्ब ११ अर्ब ँ बजेट विनियोजन गरेको छ । जसमध्ये हालसम्म १ खर्ब ८७ अर्ब १२ करोड ऋण भुक्तानी भएको छ, जुन वार्षिक विनियोजनको ४५.५३ प्रतिशत हो । जीडीपीको आधारमा ऋण खर्चको अनुपात ३.०६ प्रतिशत रहेको छ । पछिल्लो छ महिनामा सरकारले १ खर्ब ५५ अर्ब १३ करोड आन्तरिक ऋण तथा ३१ अर्ब ९९ करोड बाह्य ऋण भुक्तानी गरेको छ । जसमा साँवा भुक्तानी १ खर्ब ५२ अर्ब ८९ करोड र ब्याज भुक्तानी ३४ अर्ब २३ करोड रहेको छ ।