काठमाडौं ।
नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज अन्तरिम आदेश जारी भएन। सर्वोच्चको यस निर्णयसँगै निर्वाचन आयोगले गरेको निर्णयअनुसार गगन थापा नेतृत्वको कांग्रेसले तत्कालका लागि कानुनी र राजनीतिक बाटो खुला पाएको छ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि आज न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो। तर, अन्तरिम आदेश दिने वा नदिने टुंगोमा पुग्नुअघि इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ।
यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई कांग्रेसको आधिकारिक संरचनाका रूपमा अद्यावधिक गरिसकेको छ। सोही निर्णयको आधारमा गगन थापाले पार्टीका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याइसकेका छन्।
सर्वोच्चबाट अन्तरिम आदेश नआएपछि निर्वाचन प्रक्रिया, उम्मेदवारको वैधानिकता र चुनावी गतिविधिमा गगन थापा नेतृत्वको कांग्रेसलाई तत्काल कुनै कानुनी अवरोध नरहेको देखिएको छ। तर, मुद्दा अन्तिम टुंगोमा नपुग्दासम्म कांग्रेसभित्रको आन्तरिक विवाद भने थप चर्किने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।











प्रतिक्रिया