काठमाडौं।
एम्बास्डर्स क्लब नेपालले संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक–नेपाल हाना सिंगल–हाम्दीलाई विशेष समारोह बीच ‘रिक्गनिसन अवार्ड– २०२५’ द्धारा सम्मान गरेको छ ।
विशालनगरस्थित आफ्नै कार्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हानालाई सम्मानको रुपमा उक्त अवार्ड दिएको बताइन् ।
‘उहाँ (हाना) को विशिष्ट नेतृत्व, सेवामा समर्पित र नेपालको विकास यात्रामा गरेको दिगो योगदानको कदर गर्दै एम्बास्डर्स क्लब नेपालले महामहिम हाना सिंगर–हाम्दीलाई रिक्गनिसन अवार्ड–२०२५ प्रदान गर्दछ,’ अध्यक्ष डा. शर्मिलाले भनिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले हानालाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
यो अवार्ड अब एम्बास्डर्स क्लब नेपालले बार्षिक रुपमा प्रदान गर्नेछ । क्लबले हरेक वर्ष राजदूत, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा अधिकारीहरूलाई प्रदान गर्नेछ । हानाले पहिलो संस्करणको अवार्ड पाएकी हुन् ।
एम्बास्डर्स क्लब नेपालले यो सम्मानले नेपालमा विकास सहयोगलाई सुदृढ पार्ने र सकारात्मक परिवर्तनलाई बढावा दिने आफ्नो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाएको छ । यो पुरस्कार एम्बास्डर्स क्लब नेपालको निर्णायक मण्डलले छनोट गरेर दिन्छ ।
सम्मानपछि बोल्दै संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हानाले एम्बास्डर्स क्लब नेपाल र अध्यक्ष डा. शर्मिलालाई धन्यवाद दिइन् । ‘मलाई सम्मान गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ । यो अद्भुत छ– तपाईहरुले जे गर्नुभएको छ, सधैं कृतज्ञ छु,’ उनले भनिन् ।
हानाले थपिन्, ‘मेरो लागि नेपाल माइतीघर हो । म सन् १९९७ देखि नेपाल आउदै रहेको छु । मैले लगभग सात वा आठ पटक नेपाल भ्रमण गरेको छु, र म लगभग ६ वर्ष नेपालमा बसेको र काम गरेको छु । मैले ५४ भन्दा बढी जिल्लाको यात्रा गरेको छु । र, म भावनात्मक रुपमा अभिभूत महशुस गरेको छु ।’ उनले आफू सधैं नेपाल फर्कनुको कारण यहा केहि जादू नै भएको बताइन् । उनले नेपालको एक जादूयी हिस्सा नेपालीहरु भएको पनि बताइन् ।
पुरस्कार समारोहको क्रममा नेपालस्थित विदेश राजदूतहरू, कूटनीतिज्ञहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, अन्य कूटनीतिक नियोगका अधिकारीहरू र निजी क्षेत्रका नेताहरुको पनि उपस्थिति रहेको थियो ।
एम्बास्डर्स क्लब नेपाल एक प्रतिष्ठित गैर–नाफामुखी र तथस्ट संस्था हो । यो यस्तो संस्था हो, जहा कूटनीतिक नियोगहरू बीचमा मित्रता, विश्वास र अर्थपूर्ण संवादलाई बढावा दिन एकसाथ भेला गराउने काम गर्छ । क्लबले कूटनीति कला क्षेत्रको उत्सव मनाउछ । साथै, क्लबले सहयोगी साझेदारीलाई पोषण गर्दछ र साझा उद्देश्य प्राप्तिको लागि सहकार्यको काम गर्दछ । यो क्लब मित्रता, विश्वास र संवादमा निर्मित गर्ने एक विश्वसनीय स्थान पनि हो ।











प्रतिक्रिया