लगानी प्रवद्र्धनका लागि एकल विन्दु सेवा केन्द्र


काठमाडौं ।

लगानी प्रक्रिया सरल, छिटो र प्रभावकारी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यसहित लगानी बोर्ड नेपालले एकल विन्दु सेवा केन्द्र सञ्चालनको गृहकार्य सुरु गरेको छ । हाल लगानीकर्ताले विभिन्न मन्त्रालय र विभाग धाउनुपर्ने झन्झट हटाउँदै एउटै स्थानबाट सेवा दिने तयारी बोर्डले थालेको हो।

लगानी बोर्डका अनुसार एकल विन्दु सेवा केन्द्रमार्फत लगानीसँग सम्बन्धित स्वीकृति, समन्वय र सहजीकरणका कामहरू एकै ठाउँबाट अघि बढाइनेछ। यसका लागि बोर्डले सहसचिव हेमराज तामाङलाई केन्द्रको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।
एकल विन्दु सेवा केन्द्रलाई प्रभावकारी बनाउन हालसम्म १४ वटा सरकारी निकायले अख्तियारीसहित फोकल पर्सन तोकिसकेका छन्। ती फोकल पर्सनहरू सम्बन्धित मन्त्रालय तथा निकायको ‘सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट’का रूपमा रहनेछन्।

फोकल पर्सन तोकिएका मन्त्रालय, विभाग तथा निकायहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत विकास विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल दूरसञ्चार प्राधिकरण रहेका छन्।

लगानी बोर्डले आवश्यकता अनुसार अन्य निकायहरूले पनि फोकल पर्सन तोक्न सक्ने जनाएको छ । लगानी बोर्डको कार्यालयले सम्बन्धित मन्त्रालय, विभाग र निकायहरूसँगको समन्वयमा एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिसकेको छ। तत्कालका लागि फोकल पर्सनहरूसँग समन्वय गरेर सेवा प्रवाह सुरु गरिने बोर्डको योजना छ । एकल विन्दु सेवा केन्द्रको अवधारणाले लगानी प्रक्रियालाई सहज बनाउँदै नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।