वैदेशिक लगानी प्रवद्र्धनमा जोड


काठमाडौं ।

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ । भेटका क्रममा एमच्याम नेपालले वैदेशिक लगानी प्रवद्र्धन, कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रसँग सम्बन्धित आठवटा प्राथमिक नीतिगत विषयमा ठोस सुझाव प्रस्तुत गरेको हो।

एमच्याम नेपालले स्वच्छ जलविद्युत् स्रोत र भौगोलिक अवस्थाका कारण नेपालमा हाइपरस्केल डाटा सेन्टर स्थापनाको ठूलो सम्भावना रहे पनि विद्युत् आपूर्तिको स्थायित्व, उच्च क्षमताको कनेक्टिभिटी, स्वीकृति प्रक्रिया र नियामक स्पष्टताको अभावले ठूला विदेशी लगानी आकर्षित हुन नसकेको जनाएको छ । एमच्याम नेपालका अध्यक्ष कैलाश विजयानन्दले स्पष्ट नीति र एकीकृत फ्रेमवर्क नहुँदा लगानीकर्ताहरू निर्णयमा पुग्न नसकेको भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी, अमेरिकी लगानीकर्तालाई लक्षित एफडीआई–रेडी परियोजनाको संरचित पाइपलाइन तयार गर्न र लगानी प्रवद्र्धनमा एमच्याम नेपाललाई औपचारिक साझेदारको मान्यता दिनुपर्ने माग राखिएको छ । एमच्याम नेपालले राष्ट्रिय भुक्तानी प्रणाली एकल निकायमा केन्द्रित गर्ने प्रस्तावले प्रतिस्पर्धा र नवप्रवर्तनमा असर पार्न सक्ने चेतावनी दिँदै बजारमैत्री प्रणाली अपनाउनुपर्नेमा जोड दिएको छ ।

साथै, सौर्य ऊर्जासम्बन्धी परियोजनामा भ्याट छुट अधिकार दुई निकायमा विभाजित हुँदा अन्योल सिर्जना भएकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एकद्वार अधिकार दिन सुझाव दिएको छ । एमच्याम नेपालले स्पष्ट नीतिगत सुधार र लगानीमैत्री वातावरण बनेमा नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरेको छ ।