प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता


काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि तथा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । आयोगले उम्मेदवारी दर्ताका क्रममा तडकभडक नगरी शान्त र मर्यादित रूपमा उपस्थित हुन आग्रह गरेको छ ।

भीड व्यवस्थापनका लागि प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि समयसमेत तोकिएको आयोगले जनाएको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य निर्वाचित हुने व्यवस्था छ ।

अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् । आयोगले आवश्यक सबै तयारी पूरा भइसकेको बताउँदै आज देशभर उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता हुने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।