मनोनयन प्रक्रिया आजदेखि, कागजात अनिवार्य


काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता आज देशभर हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य कागजातका रूपमा तोकिएको छ ।

उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकसहितको मनोनयन पत्र, आवश्यक परे राजीनामा दिएको प्रमाण, दलबाट उम्मेदवारी दिएमा आधिकारिक सिफारिस पत्र पनि पेस गर्नुपर्नेछ ।

यस्तै, रु १० हजार धरौटी रकम जम्मा गरेको रसिद अनिवार्य रहेको छ भने महिला, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उम्मेदवारले स्वघोषणा पत्र, सम्पत्ति विवरण, वैयक्तिक विवरण फाराम तथा पेस्की वा बेरुजु फर्छ्योटको निस्सा पनि बुझाउनुपर्ने आयोगले जनाएको छ ।