पूर्वमन्त्री गोविन्दनाथ उप्रेती ‘रातो बाघ’ को निधन

0
Shares

काठमाडौं। 

नेपालमा चुनावी रन्को चलिरहेका बेला एक देशभक्त बामपन्थी नेता तथा पूर्व मन्त्री गोविन्दनाथ उप्रेतीको काभ्रेको भुम्लु आफ्नै निवासमा सोमबार विहान निधन भएको छ । उहाँको सोमबारै दोलालघाटस्थित सुनकोसी बगरमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो । उहाँको निधनले ‘रातो बाघ’ उपनामले चिनिएका निडर वामपन्थी नेता र जनसेवकको राजनीतिक यात्राको अन्त्य भएको छ । 

नेपाली राजनीतिमा निडर, कर्मठ र जनताको पक्षमा सधैं उभिने नेताका रूपमा परिचित पूर्वमन्त्री गोविन्दनाथ उप्रेतीको सोमवार दोलालघाटस्थित सुनकोसी नदी किनारमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । ८२ वर्षको उमेरमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित आफ्नै निवासमा ५ माघको बिहान उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उप्रेतीको निधनसँगै नेपाली वाम राजनीतिले एक अनुभवी र संघर्षशील नेतालाई गुमाएको छ ।

सोमवार भएको अन्त्येष्टि कार्यक्रममा उहाँका परिवारका सदस्य, आफन्त, राजनीतिक सहकर्मी, विभिन्न दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभामा सहभागीहरूले उप्रेतीको राजनीतिक निष्ठा, सादा जीवनशैली र जनताप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

‘रातो बाघ’को पहिचान

गोविन्दनाथ उप्रेती नेपाली राजनीतिमा ‘रातो बाघ’ उपनामले चिनिनुहुन्थ्यो ।  यो उपनामले उहाँको स्वभाव, निडरता र वामपन्थी आन्दोलनप्रतिको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गथ्र्यो । पञ्चायती शासनविरुद्धको आन्दोलनदेखि बहुदलीय व्यवस्था स्थापना र त्यसपछिका राजनीतिक उतार–चढावसम्म उप्रेती सक्रिय राजनीतिमा अग्रपंक्तिमा रहनुभएको थियो । जनताको हकहितका मुद्दामा सम्झौताविहीन अडान राख्ने नेताका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो ।

काभ्रेपलाञ्चोकमै जन्मिनुभएका उप्रेती युवावस्थादेखि नै वामपन्थी विचारधारामा आकर्षित हुनुभएको एक जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । तत्कालीन कम्युनिष्ट आन्दोलनमा सक्रिय हुँदै उहाँले संगठन निर्माण, राजनीतिक चेतना फैलाउने र आन्दोलनलाई जमीनी तहसम्म पु¥याउने काममा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।  उहाँले समयक्रममा नेकपा (माले), नेकपा एमाले, पुनः माले हुँदै राजनीतिक यात्रा तय गर्नुभयो ।

राजनीतिक यात्राका क्रममा उप्रेती काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट तीनपटक निर्वाचित सांसद बन्नुभएको थियो । साथै उहाँले श्रम राज्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । मन्त्रीका रूपमा उहाँले श्रमिक अधिकार, सामाजिक न्याय र श्रम क्षेत्रमा सुधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुभएको सहकर्मीहरूले श्रद्धाञ्जली सभामा बताएका थिए । 

उपेती राजनीतिमा पद र प्रतिष्ठाभन्दा माथि जनसेवालाई राख्ने नेताका रूपमा चिनिनुहुन्थ्यो । स्थानीय तहदेखि संघीय तहसम्म उहाँले काभ्रेपलाञ्चोकसहित आसपासका क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य र श्रमिक अधिकारका विषयमा आवाज उठाउनुभयो । उहाँको जीवनशैली अत्यन्त सादा थियो । सार्वजनिक सवारी साधन प्रयोग गर्ने, विलासिताबाट टाढा रहने र सर्वसाधारणसँग सहजै घुलमिल हुने स्वभावले उहाँलाई जनप्रिय बनाएको थियो । यतिमात्र नभै सांसद सुविधा अन्र्तगत लिएको गाडी पनि उहाँले जनसेवाकै लागि आम नागरिकको दुःखको सारथीका रुपमा प्रयोग गर्नुहुन्थ्यो ।

 गाउँमा बत्ती नपुग्दा आफै प्राधिकरणमा आई विजुलीको पोल उठाएर गाडिमा लोड गराई गाउँमा लागि वितरण गर्ने देखि १० बर्षे जनयुद्धका समयमा शेर बहादुर देउवाको नेतृत्वमा बनेको सरकारले माओवादी नेताको टाउकोको मूल्य तोक्दा सिधै जिल्ला प्रशासन कार्यालयमा दलबल सहित उपस्थित भै टाउको काटेर देखाउँन सरकारलाई चुनौति दिने नेता उप्रेति नै हुनुहुन्थ्यो । उहाँको चुनौतीपूर्ण उपस्थितिमा सुरक्षाकर्मी मुकदर्शक भएर उहाँको भाषण सुन्नुको विकल्प थिएन । 

उपेतीको पारिवारिक जीवन सरल र कडा मिजासको थियो । पछिल्लो समय उहाँ भतिजा विष्णुबहादुर उप्रेतीको रेखदेखमा बस्दै आउनुभएको थियो । लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित भए पनि राजनीतिक चासो र सामाजिक गतिविधिप्रति उहाँ अन्तिम समयसम्म सचेत रहनुभएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय केही महिना अघि निकै बिरामी पर्दा समेत धुलिखेल अस्पतालको बेडमै बसेर स्वास्थ्य सुविधाका बिषयमा आफैले आवाज उठाएर सेवा लिनुभएको थियो । उहाँको उपचारमा आर्थिक अभाव भएको खबर बाहिरिदा उहाँ आफैले डटेर अधिकारका लागि अस्पतालको शैयाबाट आवाज उठाउनुभएको थियो । 

आज उहाँको निधनले बाम राजनीतिमा अपूरणीय क्षति पुर्याएको छ । उपेतीको निधनप्रति विभिन्न राजनीतिक दल, नेता तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन् । उहाँको निधनले काभ्रेपलाञ्चोक मात्र नभई समग्र नेपाली वाम राजनीति र सामाजिक आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिक्रिया आएको छ । वाम आन्दोलन, श्रमिक अधिकार र सामाजिक समावेशीकरणका क्षेत्रमा उहाँले पु¥याएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने नेताहरूले बताएका छन् । निडरता, इमानदारी र जनताको पक्षमा उभिने राजनीतिक संस्कारका प्रतीकका रूपमा स्मरण गरिने गोविन्दनाथ उप्रेतीको राजनीतिक जीवनले नेपाली राजनीतिमा एउटा युगको प्रतिनिधित्व गर्छ । उहाँका आदर्श र कर्मले आगामी पुस्ताका नेताहरूलाई सेवामूलक, निष्ठावान र जनमुखी राजनीति गर्ने प्रेरणा दिने विश्वास गरिएको छ ।