उम्मेदवारी दर्ता गराउँदा १३ कागजात अनिवार्य


काठमाडौं ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्दा १३ प्रकारका कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने जनाएको छ । आयोगका अनुसार नागरिकता, मतदाता नामावली, राजीनामा निस्सा, धरौटी रसिद, सम्पत्ति विवरणलगायत समावेश छन् । महिला, दलित, अल्पसंख्यक वा विपन्न उम्मेदवारलाई धरौटीमा ५० प्रतिशत छुट हुने व्यवस्था छ । यसमा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, नियमावली २०७४, निर्देशिका २०८२ र आचारसंहिता २०८२ अनुसार लागू हुनेछ ।

निर्वाचन आयोगले तोकेका कागजातहरू

१. नागरिकता वा मतदाता परिचय पत्र ः उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि ।

२. मतदाता नामावली निस्सा ः कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।

३. पदबाट राजीनामा निस्सा ः उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा तिनका स्वामित्व÷नियन्त्रण÷अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने पदमा बहाल रहेको भए त्यसबाट राजीनामा दिएको निस्सा ।

४. प्रतिनिधि मुकरर फारम ः उम्मेदवारले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमको फारम ।

५. प्रस्तावक र समर्थकसहित मनोनयन पत्र ः प्रचलित कानुनबमोजिम योग्य व्यक्तिले सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र (प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम)।

६. दलको औपचारिक पत्र ः दलका तर्फबाट उम्मेदवारी दिएको भए दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र। (एकल चुनाव चिह्न लिई संयुक्त रूपमा भाग लिने दलहरूका लागि अनुसूची–८ बमोजिमको पत्र)।

७. धरौटी रसिद वा भौचरः निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर । (महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट, विपन्नका लागि स्थानीय तहको सिफारिस पत्र आवश्यक) ।

८. स्वघोषणा पत्रः उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र ।
९. सम्पत्ति विवरणः उम्मेदवारको चल÷अचल सम्पत्ति, बैंक खाता, धितोपत्र, सेयर, ऋणपत्र, ऋण दिएको÷लिएको विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण (प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिम)।

१०. वैयक्तिक विवरण फारमः उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको वैयक्तिक विवरण फारम ।

११. पेस्की फछ्र्यौट निस्सा ः उम्मेदवारले निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै प्रकारको पेस्की लिएको भए सो फछ्र्यौट भएको व्यहोराको निस्सा ।

१२. बेरुजु फछ्र्यौट निस्सा ः लेखापरीक्षणबाट उम्मेदवारको नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने बेरुजु कायम भएको भए सो फछ्र्यौट गरेको निस्सा ।

१३. प्रतिबद्धता पत्रः निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–३ बमोजिमको प्रतिबद्धता पत्र ।