नेपाली खेलकुदको जीवन्त इतिहास- मधुशमशेर जबरा

जसको प्रशिक्षणमा जित्यो नेपालकै पहिलो ऐतिहासिक पदक

0
Shares

नेपाली खेलकुदको गगनमा एउटा यस्तो नक्षत्र छ, जसको चमक साढे आठ दशकको उमेरमा पनि फिक्का भएको छैन । उनी हुन् मधुशमशेर जबरा, नेपाली खेलकुदका एक जीवित इतिहास, जसले दशकौंसम्म नेपाली एथ्लेटिक्सको जगलाई आफ्नो पसिनाले सिञ्चित गरे । ८ दशक नाघेको परिपक्व उमेरमा पनि उनको अनुहारमा खेलकुदप्रतिको त्यही चमक छ, जुन दशकौँअघि एउटा जोसिलो युवा प्रशिक्षकमा हुन्थ्यो । वीर शमशेरको पुस्ता भएकाले नामको पछाडि ‘जबरा’ अर्थात् ‘जंगबहादुर राणा’ झुण्डिएको भए पनि मधुशमशेरमा त्यो बेलाको पारिवारिक विरासतको रबाफ कहिल्यै देखिएन । उनको साधारण जीवनशैलीले जोकोहीलाई पनि नतमस्तक बनाउँछ ।

वि.सं २००७ सालको क्रान्तिताकाको परिवेशमा हुर्किएका उनले आफ्नो जीवनको लय भने खेलमैदानको ट्रयाक र फिल्डमा भेट्टाए । सेन्ट जेभियर्स र त्रिचन्द्र कलेजबाट शिक्षा लिँदै गर्दा उनले बुझेका थिए कि जीवनको वास्तविक सन्तुष्टि कुर्सीमा बसेर आदेश दिनुमा होइन, मैदानमा दौडिएर पसिना बगाउनुमा छ । पढाइ सकिएपछि उनलाई भन्सारमा आकर्षक जागिर खाने प्रस्ताव नआएको होइन, तर एउटा सच्चा खेलाडीको मन पैसा र शक्तिको लोभमा अडिन सकेन । उनले सत्ता र शक्तिको केन्द्रलाई त्यागेर खेलकुदको कठिन तर गौरवमय बाटो रोजे । मधुशमशेरको खेल जीवनको औपचारिक यात्रा सन् १९६० को दशकतिर सुरु भएको थियो । जतिबेला नेपालमा एथ्लेटिक्सको न कुनै संरचना थियो, न त व्यवस्थित प्रशिक्षण नै । तर, उनमा खेलप्रतिको यस्तो भोक थियो कि उनी काठमाडौँका गल्लीदेखि नेपालका विभिन्न कुनासम्म दौडिएर एथ्लेटिक्स प्रतियोगितामा भाग लिन पुग्थे ।

उनको प्रशिक्षक यात्रा २०२६ सालमा भारतको पटियालास्थित नेशनल इन्स्टिच्युट अफ स्पोट्र्सबाट एथ्लेटिक्समा डिप्लोमा गरेपछि सुरु भयो । त्यस समय नेपालमा खेलकुदका प्राविधिक जनशक्ति शून्यप्रायः थिए । उनी यस्ता पहिलो व्यक्ति बने जसले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रशिक्षण लिएर नेपाली खेलाडीलाई डोहो¥याउन थाले । त्यहाँबाट सैद्धान्तिक र व्यावहारिक ज्ञान लिएर फर्केपछि नै नेपालमा ‘प्रशिक्षण’ को आधुनिक अध्याय सुरु भयो । उनले नै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदमा व्यवस्थित प्रशिक्षणको जग बसाले । उनको कठोर मिहिनेतको पहिलो मिठो फल सन १९७३ मा प्राप्त भयो, जब मनिलामा आयोजित ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा लेजेन्डरी धावक जितबहादुर केसीमार्फत नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय पदक हात पा¥यो । टोली ब्यवस्थापक र प्रशिक्षकको दोहोरो जिम्मेवारीमा रहेका जबराले नेपाललाई दिलाएको त्यो उपलब्धि केवल कांश्यले बनेको पदक मात्रै थिएन, त्यो त नेपाली खेलकुदले विश्व मानचित्रमा पाइला टेकेको पहिलो आधिकारिक पदचाप र आत्मविश्वासको उदय थियो ।

यिनै अतुलनीय योगदानको कदरस्वरूप उनलाई ‘प्रबल गोरखा दक्षिणबाहु’ र ‘प्रख्यात त्रिशक्तिपट्ट’ जस्ता उच्च राजकीय सम्मानबाट विभूषित गरियो । युनेस्कोको छात्रवृत्तिमा जर्मनी पुगेर उच्च शिक्षा लिएका उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि खेलकुदको ढोका खोले । उनले लेखेको ‘प्रथम राष्ट्रिय अपाङ्ग खेलकुद नियमावली’ नेपालको खेल इतिहासमा एउटा स¥हानीय कदम थियो । यो यस्तो दस्तावेज हो जसले शारीरिक चुनौती भएका व्यक्तिहरूमा पनि आत्मसम्मान र खेल भावनाको सञ्चार ग¥यो ।

दशकौं लामो खेल यात्रामा उनले अनेकौँ उतारचढाव देखेका छन् । मधुशमशेरको जीवनको एउटा असाध्यै भावुक र ऐतिहासिक क्षण २०५९ सालमा जु¥यो । उनले ७५ वर्ष नाघेका पुराना खेलाडी र प्रशिक्षकहरूलाई एउटै मञ्चमा भेला गराएर सम्मान गर्ने कार्यक्रमको नेतृत्व गरे । यो केवल नेपालमा मात्र होइन, सायद एसियामै पहिलो पटक यस्तो प्रयास थियो, जहाँ भुल्न लागिएका पुराना ताराहरूलाई पुनः उज्यालोमा ल्याइएको थियो । “नेपाल एमेच्योर भेट्रान्स एथ्लिट कमिटी” मार्फत उनले खेलाडीहरू सक्रिय रहुन्जेल मात्र चिनिने र अवकाशपछि स्मृतिमा जाने परम्परालाई तोड्ने काम गरे । राज्यले भुलेका ती पुराना खेल ताराहरूको आँखामा त्यतिबेला देखिएको खुसी र गर्व मधुशमशेरका लागि जीवनको अविष्मरणीय क्षणमध्येको एक बन्यो । उनी सधैँ एउटै मन्त्र जप्छन् “क्याच देम ह्वेन दे आर योङ” अर्थात खेलाडीलाई सानै उमेरमा चिन्नुहोस ।

यद्यपि, यति लामो यात्रा तय गरिसक्दा पनि उनको मनमा एउटा गहिरो पीडा र अधुरो सपना छ । नेपालमा सम्भावना भएका खेलाडीको कमी छैन, कमी छ त केवल सही मूल्याङ्कन र राज्यको दूरदर्शिताको । उनी भन्छन्,–“यदि एउटा कोट बिग्रियो भने त्यो कपडाको दोष होइन, काट्ने ‘मास्टर’ को दोष हो ।” खेलकुद प्रशासनमा खेलको मर्म नबुझेका व्यक्तिहरूको बाहुल्यता हुनु र योग्य व्यक्तिहरूको अनुभवलाई वेवास्ता गरिनु नै नेपाली खेलकुद पछाडि पर्नुको मुख्य कारण हो भन्ने उनको मान्यता छ । राजनीतिकरणले खेलकुदलाई गाँजेको प्रति उनको संकेत स्पष्ट छ । खेलाडीहरूले भन्दा राजनीतिक व्यक्तित्वहरूले बढी प्रश्रय पाउने प्रवृत्तिको उनी कडा आलोचक हुन् । उनको एउटा कुरामा जोड दिन्छन–“ओलम्पिक जस्ता ठूला प्रतियोगिताका लागि दुई–चार महिनाको होइन, ८–१० वर्ष अघिदेखिको कठोर तयारी चाहिन्छ ।”

आज शरीर उमेरले शिथिल भए पनि उनको विचार अझै तिखो र दूरगामी छ । देशको राजनीतिक उतारचढाव र द्वन्द्वले नेपाली–नेपालीबीच भएको काटमारले उनलाई निकै विचलित बनाएको थियो । “हामी सबै दाजुभाइ दिदीबहिनी हौँ, आपसी झगडा अन्त्य गरेर देश विकासमा लाग्नुपर्छ” भन्ने उनको सन्देश निक्कै सान्दर्भिक छ । उनी चाहन्छन् कि खेलको नेतृत्व खेल बुझेकै मान्छेले गरोस् । टिभीमा खेल हेरेकै भरमा खेलको बयान गर्नेहरूले खेलकुदको विकास गर्न नसक्ने उनको तर्कमा सत्यता र अनुभवको गहिराइ दुवै छ । उनलाई दुःख लाग्छ जब आजका प्रतिभाशाली खेलाडीहरू भविष्य नदेखेर पलायन हुन्छन् । तर, उनी हरेक युवालाई एउटै सन्देश दिन्छन,–“मातृभूमिलाई कहिल्यै नछोड, यो माटोले तिम्रो पसिनाको मूल्य ढिलोचाँडो पक्कै बुझ्नेछ ।”

मधुशमशेर जबराको जीवन यात्रा नेपाली खेलकुदका लागि एउटा प्रेरणादायी पाठशाला हो । उनले देखाएको बाटो, उनले भोगेको संघर्ष र उनले राखेको जगमा नै आजको नेपाली खेलकुद उभिएको छ । उनी केवल एक प्रशिक्षक मात्र होइनन्, उनी त नेपाली खेलकुदका ती अभिभावक हुन् जसले अन्धकारमा पनि सम्भावनाको दियो बाल्न सिकाए । आजको नयाँ पुस्ताले उनी जस्ता जीवित इतिहासबाट सिक्नुपर्ने धेरै छ । उनको भोगाइ र अनुभव इतिहासको पानामा मात्र होइन, प्रत्येक नेपाली खेलाडीको हृदयमा स्वर्ण अक्षरले कोरिनुपर्छ । खेलकुदलाई केवल एउटा पेशा होइन, एउटा ‘राजमार्ग’ मान्ने मधुशमशेर भन्छन्,“मैले जीवनका अनुभवहरू आफ्ना प्रशिक्षार्थीहरूलाई बाँडे, व्यक्तिगत रूपमा म सन्तुष्ट छु ।”

मधुशमशेर जबराको प्रशिक्षण र नेतृत्वमा नेपाली एथ्लेटिक्सले जुन उचाइ हासिल ग¥यो, त्यसलाई नेपाली खेलकुदको ‘स्वर्ण युग’ मान्न सकिन्छ । मधुशमशेर जबराको प्रशिक्षणमा नेपाली खेलाडीले प्राप्त गरेको ऐतिहासिक उपलब्धि :