विद्यार्थीको सहजताका लागि स्कुल बस

0
Shares

जिरी, दोलखा। 

दोलखाको जिरी नगरपालिका वडा नम्बर– २ यलुङ गाउँमा रहेको बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयको ६३ औ वार्षिकोत्सवको अवसरमा कल्स ओवर रिजेज नेपाल (कोर्न) ले विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ ।

विद्यालयमा दुई सय ५७ जना विद्यार्थी रहेको र अधिकांश  विद्यार्थी टाढा गाउँबाट पैदलयात्रा आउनुपर्ने बाध्यतामा स्कुल बस प्राप्त भएपछि विद्यार्थीहरुलाई सहजता हुने विद्यालयका प्रधानाध्यापक आङबाबा शेर्पा बताउछन् । अब विद्यार्थी संख्यामा समेत बृद्धि हुने विश्वास लिएका छौ– प्रधानाध्यापक शेर्पाले भने ।

विद्यालयको अभिभावक पार्वती खत्री विद्यालय टाढा भएकोले मोटरसाईकलमा आउजाउ गर्नेक्रममा छोरा दुर्घटनामा परेको सम्झदै स्कुल बस प्राप्त भएपछि अब सहज हुने बताउछिन् । पैदल जान छोरालाई चार घण्टा लाग्थ्यो, मोटरसाईकलमा जान सधै जोखिम अभिभावक पार्वतीले भनिन्– विद्यालयलाई स्कुल बस प्राप्त भएकोले अब टाढा– टाढाका विद्यार्थीलाई सहज हुने भयो ।

२०७४ सालमा स्थापना भएको कल्स ओवर रिजेज नेपाल (कोर्न) ले जिरी नगरपालिकाको बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयसहित चार वटा विद्यालयमा स्कुल बस उपलब्ध गराएको कोर्नका फाउण्डर साङडोमा शेर्पाले बताइन ।

विद्यार्थीहरुलाई अध्यनमा सहज गर्ने उदेश्यले कल्स ओवर रिजेज नेपाल (कोर्न) ले छात्रवृत्ति कार्यक्रम, विद्यालय बस (स्कुल बस) कार्यक्रम र पोषण अन्तर्गत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको फाउण्डर साङडोमाको भनाई छ । 

हामीले २०७४ सालमा ४९ जना विद्यार्थीबाट सुरु गरेको छात्रवृत्ति कार्यक्रम अहिले एक सय ६० जना विद्यार्थीसम्म विस्तार गरेका छौ, दिवा खाजा कार्यक्रम तीन वटा स्थानीय तहका ३० वटा विद्यालयमा विस्तार भएका छन् र तीन वटा स्थानीय तहका पाँच वटा विद्यालयमा पुस्तकालय स्थापना गरेका छौ– फाउण्डर साङडोमाले भनिन् ।

संस्थाले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम, विद्यालय बस (स्कुल बस) कार्यक्रम र पोषण अन्तर्गत विद्यालयमा दिवा खाजा कार्यक्रम मार्फत हालसम्म छ हजार आठ सय ६४ विद्यार्थी, ३८ विद्यालय तथा सिकाई केन्द्र, ४३ वटा दीर्घकालीन साझेदार र चार वटा स्थानीय तहसम्म पुग्न सकिएको फाउण्डर साङडोमाले बताइन ।