नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी–२०८२ सुरु


काठमाडौँ।

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी–२०८२ को शुभारम्भ गरिएको छ। आज जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच प्रधान सेनापति अशोक राज सिग्देलले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि, भूमिका र योगदानबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको उद्घाटन समारोहमा प्रधान सेनापति सिग्देलले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीन जना गैरसैनिक फोटोग्राफर, नेपाली सेनाका तीन वटा युनिट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयका एक जना फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। साथै, मूल्याङ्कन समितिका सदस्यहरूलाई कदरपत्रमार्फत सम्मान गरिएको थियो। कार्यक्रमपछि प्रधान सेनापति लगायत उपस्थित अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दल लगायत नेपाली सेनाका बहुआयामिक गतिविधि समेटिएका छन्। कुल ३१ वटा स्टलमार्फत नेपाली सेनाको कार्यक्षेत्र र योगदानलाई प्रत्यक्ष अनुभूति गर्न सकिने व्यवस्था गरिएको छ।

सेना दिवस–२०८२ को अवसरमा आयोजना गरिएको यो प्रदर्शनी माघ ०७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। प्रदर्शनी अवलोकनका लागि जङ्गी अड्डाको पश्चिम गेटबाट आम नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

उद्घाटन समारोहमा पूर्व प्रधान सेनापतिहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक सहचारी, अधिकृत, सकलदर्जा, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।