काठमाडौँ
चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपियाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपियाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीका अनुसार निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत), सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइनेछ ।
सम्झौताअनुसार ज्योति क्यापिटलले हिमालयन बुलियनको आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्य सम्हाल्नेछ ।
कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । हिमालयन बुलियन कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका–१ मा रहेको छ ।











प्रतिक्रिया