काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कानुनी कारबाहीको घेरामा ल्याउन निर्वाचन आयोगले साइबर ब्युरोलाई औपचारिक रूपमा पत्र पठाएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गर्दै निराधार आरोप लगाई निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको निष्कर्षसहित आयोगले अनुसन्धान अघि बढाउन आग्रह गरेको हो।
प्रसाईँले आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट मान्यता पाएको दाबी गरेका थिए। प्रमाणबिनै गम्भीर आरोप लगाएर भ्रम फैलाएको ठहर गर्दै आयोगको आइतबार बसेको बैठकले उनलाई आवश्यक कानुनी कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णय गरेको हो।
आयोगका एक उच्च स्रोतका अनुसार, “दुर्गा प्रसाईँले शनिबार पत्रकार सम्मेलनमार्फत विभिन्न व्यक्ति र संस्थामाथि निराधार आरोप लगाए भन्ने जानकारी आयोगमा आएको थियो। निर्वाचनको संवेदनशील घडीमा यस्ता अभिव्यक्तिले सार्वजनिक विश्वास कमजोर पार्ने भएकाले साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि निर्णय गरिएको हो।”
आयोगले सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चमार्फत गलत सूचना फैलाएर निर्वाचन प्रक्रियालाई बदनाम गर्ने कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक प्रणालीमै असर पार्ने चेतावनी दिएको छ। साथै, आयोगले आगामी दिनमा यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।
यस विषयमा साइबर ब्युरोले आयोगको पत्र प्राप्त भइसकेको जनाउँदै प्रारम्भिक अध्ययनपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने बताएको छ।











प्रतिक्रिया