काठमाडौं।
नेपाल आईसीसी महिला क्रिकेट टी ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
प्रतियोगिताको समूह बी को खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । आइतबार कीर्तिपुरस्थित त्रिवि रंगशालामा भएको खेलमा नेपालले १ सय २३ रनको विजयी लक्ष्य दिएको थियो ।
जवाफमा थाइल्यान्डले २ विकेटको क्षतिब बेहोरेर १६.५ ओभरमै जित हासिल गरेको थियोे । थाइल्यान्डले जित संभव गर्दा १९ बल अझै खेल्न बाँकी थियो ।
थाइल्यान्डका ओपनर जोडीले गरेको ६६ रनको साझेदारीले नै नेपालको हार पक्का गरिसकेको थियो । थाइल्यान्डका ओपनर नथाकन चन्थामले ३९ बलमै ५८ रन जोडिन् भने अर्की ओपनर अफिसरा सुवानचेनराथीले २८ रनको योगदान दिएकी थिइन् ।
ब्रेकथ्रुको फाइदा भएन
नेपालको लागि बे्रकथु्र अनुभवी खेलाडी सीता रानामगरले दिलाइन् । उनले १० औं ओभरको पहिलो बलमा आफिसराको विकेट लिएर नेपालको टोलीमा केही आस बनाएकी थिइन् । तर, नयाँ आएकी ब्याटर नन्नापात कोनचारोयकाई झनै आक्रामक ब्याटिङ गरेपछि नेपालको लागि रहेको जितको झिनो संभावना तुहिएको थियो । ३२ रनको महत्वपूर्ण इनिङ खेलेकी नन्नापातलाई सीताले नै आउट गरेकी थिइन् ।
नेपालकोे सुरुआत राम्रो
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । घरेलु टोलीका लागि ओपनर विन्दु रावल र सम्झना खड्काले ५२ रन जोडेर सानदार सुरुआत दिलाए ।
सम्झनाले ११ बलमै २६ रन बनाएर आउट भइन् र यसपछि उपकप्तान पूजा महतो विन्दुलाई सघाउन आइन् । उनीहरूले १० ओभरमै ७० को स्कोरमा पु¥याउँदा नेपालको झण्डै १ सय ४० रन बन्न सक्ने समीकरण थियो ।
तर, विन्दु ४४ रन बनाएर आउट भएपछि नेपालको ब्याटिङ फितलो बन्दै गयो । लगातार विकेट पतनपछि नेपालले ठूलो विजयी लक्ष्य दिन सकेन । पूजा १२ र पूर्वकप्तान रुवीना क्षेत्री १७ रन बनाएर पवेलियन फर्केका थिए ।
अन्यमा कप्तान इन्दु वर्मा (६ रन) सहित बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।











प्रतिक्रिया