आकर्षक तलबको प्रलोभनमा विदेश पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं ।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन देखाई रोजगारीका लागि विभिन्न देशहरुमा पठाउने भन्दै लामो समयसम्म झुक्यानमा राखी अन्ततः विदेश नपठाई सम्पर्कविहीन भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा गरिएको अनुसन्धानपछि विदेश पठाउने बहानामा ठगी गरेको अभियोगमा प्रतिवादी तेज बहादुर लामिछानेलाई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ पर्ने व्यक्ति गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका–२ स्थायी वतन भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१० मा बसोबास गर्दै आएका ३७ वर्षीय तेज बहादुर लामिछाने हुन्। उनले सर्विया पठाइदिने भन्दै पीडितबाट १ लाख २० हजार रुपैयाँ असुलेको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानमा लामिछानेले आकर्षक तलब र सुरक्षित रोजगारीको आश्वासन दिँदै लामो समयसम्म पीडितलाई झुक्यानमा राखी अन्ततः विदेश नपठाई सम्पर्कविहीन भएको खुलेको छ।

पक्राउ परेका लामिछानेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता ठगीका घटनाबाट सचेत रहन र वैदेशिक रोजगारीका नाममा हुने अवैध क्रियाकलापबारे शंका लागेमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।