विशेष महाधिवेशनले परिपक्व नतिजा दियो : पूर्वमन्त्री अधिकारी


काठमाडौँ ।

पूर्व मन्त्री तथा नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिका सभापति रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सभापतिमा निर्वाचित गगन कुमार थापा नेतृत्वको टिमलाई बधाई दिएका छन्।

कांग्रेस नेता शेखर कोइराला निकट रहेका अधिकारीले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशन पार्टी सुधार, रूपान्तरण र नीति–नेतृत्व परिवर्तनको दिशामा सकारात्मक उपलब्धि भएको उल्लेख गरेका छन्। पार्टीभित्र चलेका बहस र गतिविधिहरूलाई स्वाभाविक विचार–मन्थनको प्रक्रिया भन्दै त्यसबाट परिपक्व परिणाम निस्किएको विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमा नेपाली कांग्रेस लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, संवैधानिक सर्वोच्चता, विधिको शासन र उदार अर्थनीतिको संस्थापक तथा संरक्षक पार्टी भएको उल्लेख गरिएको छ। बदलिँदो समय र जनभावनाअनुसार विधिसम्मत ढङ्गले पार्टीलाई रूपान्तरण गर्दै देश र जनताको हितमा समर्पित हुनुपर्ने दायित्व कांग्रेसको भएको जनाइएको छ।

भ्रष्टाचारविरुद्ध, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गत भदौ २३ गते जेन–जेङ (जेन्जी) तथा नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई आत्मसात् गर्दै विशेष महाधिवेशन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ। महाधिवेशनबाट नयाँ नीति निर्माण र नेतृत्व चयन भएकोमा जिल्ला कार्यसमितिले यसलाई सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।

विज्ञप्तिमार्फत धादिङ जिल्लाका पार्टीका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरू, टोल, वडा, गाउँ/नगर तथा प्रदेश तहका पदाधिकारीहरूलाई एकताबद्ध भएर पार्टी सङ्गठन विस्तार र सुदृढीकरणमा सक्रिय हुन आह्वान गरिएको छ।

साथै आगामी फागुन २९ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनतामाझ केन्द्रित भएर लाग्न जिल्ला कार्यसमितिले अपिल गरेको छ।