बागमतीको पुँजीगत खर्च ९ प्रतिशतमा सीमित


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा बागमती प्रदेश सरकारकोे पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार पुँजीगत खर्च ८.९९ प्रतिशतमा सीमित हुँदा चालु खर्र्च २२.४८ प्रतिशत खर्च भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक् वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपियाँको बजेट ल्याएकोमा छ महिनाको अवधिमा ९ अर्ब ५८ करोड ४ लाख रुपियाँ खर्च गर्दै कूल बजेटको जम्मा १४.१० प्रतिशत मात्र खर्च गर्न सकेको छ । उक्त खर्च अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिको तुलनामा २.१७ प्रतिशतले कम हो । अघिल्लो वर्ष पहिलो छ महिनामा प्रदेशले १६.२७ प्रतिशत बजेट खर्च गरेको थियो ।

बजेट खर्च गर्ने निकायमध्ये प्रदेश लोकसेवा आयोगले सबैभन्दा बढी ३६.३५ प्रतिशत खर्च गरेको छ । त्यसपछि मुख्य न्यायाधिवक्ताको कार्यालय (३०.८० प्रतिशत), प्रदेशसभा सचिवालय (२९.३५ प्रतिशत), श्रम, रोजगार तथा यातायात मन्त्रालय (२८.१० प्रतिशत), स्वास्थ्य मन्त्रालय (२६.४३ प्रतिशत) र आर्थिक मामिला तथा योजना मन्त्रालय (२५.९१ प्रतिशत) रहेका छन् ।

सबैभन्दा कम खर्च गर्ने निकाय संस्कृति तथा पर्यटन मन्त्रालय रहेको छ, जसको खर्च २.३० प्रतिशतमा सीमित छ । अघिल्लो तीन महिनामा कूल खर्च ६.१९ प्रतिशत, चार महिनामा ७.२७ प्रतिशत र पाँच महिनामा पुँजीगत खर्च ४.४७ प्रतिशत मात्र भएको थियो ।