एमेच्योर गल्फमा पहिलो पटक नगद पुरस्कार


काठमाडौं ।


धरान गल्फ क्लबमा आजदेखि हुने डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपमा नगद पुरस्कार दिने भएको छ । ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन लागेको हो । पहिलो पटक एमेच्योर गल्फमा नगद पुरस्कार पनि दिइने भएको हो । खासगरी एमेच्योर विजेताहरूलाई कहिल्यै नगद पुरस्कार दिइँदैन ।
यो नेपाली गल्फ इतिहासमा विशेष महत्व पनि भएको छ । यसलाई नेपाली एमेच्योेर गल्फमा नयाँ अध्याय शुरु हुने पनि आस गर्न सकिन्छ । च्याम्पियनसिपको कुल पुरस्कार राशि २ लाख रुपैयाँ राखिएको छ ।

एमेच्योर गल्फको प्रवद्र्धन तथा उदीयमान गल्फरहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ च्याम्पियनसिप आयोजना गरिएको हो । यस च्याम्पियनसिपमा ९ वा सोभन्दा कम ह्यान्डिक्याप भएका एमेच्योर गल्फरहरूले सहभागिता जनाउन पाउने नियम रहेको छ । यसमा ३६ होलको मात्र प्रतिस्पर्धा हुनेछ । कुल ३८ खेलाडीको सहभागिता हुने च्याम्पियनसिप स्ट्रोक प्ले फम्र्याटमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा शीर्ष १० स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । जसमा, शीर्ष तीन हुनेले क्रमशः ५० हजार, ३० हजार र २४ हजार नगद रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथो र पाँचौं स्थान प्राप्त गर्नेले क्रमशः २० हजार र १६ हजार नगद हासिल गर्नेछन् ।

प्रायोजक देवकुमार राईले नेपालमा एमेच्योर गल्फको विकासमा ठोस योगदान पु¥याउने उद्देश्यले च्याम्पियनसिप सुरु गरिएको बताए । उनले एमेच्योर गल्फरहरूले प्रायः ट्रफी मात्र पाउने भएकाले आर्थिक भार कम गर्न नसक्ने बताउँदै नगद पुरस्कारले खेलाडीलाई सहयोग पुग्ने र खेल खेल्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

अर्का प्रायोजक दिपेन्द्र राईले एमेच्योर गल्फरहरूको स्तर बढाउन, अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने बनाउनुका साथै भविष्यमा प्रोफेसनल खेलाडी बन्ने र खेलकै माध्यमबाट जीविकोपार्जन गर्न सक्षम बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए । उनले यो प्रतियोगिता कम्तीमा पाँच वर्षसम्म निरन्तर रूपमा आयोजना गर्ने र भविष्यमा भव्य बनाउने योजना रहेको जिकिर बताए ।

बेलायतमा रहेका नेपाली प्रवासीहरूबीच बलियो गल्फ समुदाय रहेको उल्लेख गर्दै उनले भविष्यमा यस च्याम्पियनसिपलाई राष्ट्रियस्तरको प्रतियोगितामा रूपान्तरण गर्ने लक्ष्य रहेको पनि बताए । उनका अनुसार आगामी वर्षहरूमा धरान बाहिर समेत प्रतियोगिता विस्तार गर्ने विषयमा सरोकारवाला निकायहरूसँग परामर्श गरिने समेत जानकारी दिए ।