महाराजगन्ज–चप्पल कारखाना सडक: सडक विस्तार समयमै नसकिँदा यात्रु र स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य


काठमाडौँ ।

काठमाडौँको चक्रपथअन्तर्गत महाराजगन्ज–चप्पल कारखाना सडक खण्ड लामो समयदेखि धुलाम्य र हिलाम्य बनेको छ। गत फागुनदेखि सुरु भएको सडक विस्तार समयमै नसकिँदा यात्रु र स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन्।

सडक डिभिजन काठमाडौँका प्रमुख सुवोधकुमार देवकोटाका अनुसार म्याद सकिएकाले हाल विस्तारको काम रोकिएको छ र फागुन १५ गतेसम्म म्याद थप्ने प्रक्रिया अघि बढाइएको छ। अत्यधिक चिसोका कारण कालोपत्रे गर्न नसकिएको भन्दै फागुनको पहिलो साताभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

पुराना खानेपानीका पाइपबाट भएको चुहावट, माटो दलदल हुनु, मौसम तथा गत वर्षको भारी वर्षाले काम ढिलो भएको जनाइएको छ। हाल सडकको बेस तयार भइसकेको छ भने एउटा कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ।

करिब ७०० मिटर लामो यो सडक १० लेनमा विस्तार भइरहेको छ। साथै चप्पल कारखानादेखि धोबीखोलासम्मको अर्को ९०० मिटर सडक विस्तारका लागि ५१ करोड रुपैयाँको प्रस्ताव राष्ट्रिय योजना आयोगमा पठाइएको छ।