काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिका अध्यक्ष दिनेश ऐरले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी विश्वविद्यालय परिसर प्रवेश गरेमा लखेट्ने, कालोमोसो दल्ने र भौतिक आक्रमण गर्ने चेतावनी दिएका छन् ।
दुई सातादेखि पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्ने विषयमा बेवास्ता गरेपछि भौतिक आक्रमण गर्नेसम्मको चेतवानी दिएको हो । सो संगठनले पुस १७ देखि पदाधिकारीको कार्यकक्ष बन्द भए पनि त्रिवि परिसरमा बसेर काम गरिरहेको जानकारी पाएपछि थप दबाब दिन संगठनले प्रवेश निषेध गरेको हो ।
अध्यक्ष ऐर नेतृत्वको टोलीले शुक्रवार उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर प्राडा खड््ग केसी र रजिस्टार प्रा. केदार रिजालको भवनमा प्रवेश निषेध लेखेको ब्यानर राखेर चेतावनी दिएको हो । ब्यानर राखेलगत्तै आयोजना गरेको संक्षिप्त सभामा अध्यक्ष ऐरले चेतावनी दिनुभयो– ‘दम्भ देखाउनुभएको छ भने आजका दिनबाट तपाईंहरूको दम्भ टुटेको छ । विश्वविद्यालयमा कहीँ पनि प्रवेश गरेको देखेमा यो हाम्रो आन्दोलन के रहेछ । विद्यार्थीको ल्याकत के रहेछ भन्ने देखाउन चाहन्छौं ।’
संगठनले माग पूरा नभएसम्म ताला नखोल्ने स्पष्ट पारेको छ । केन्द्रीय विभागमा स्तरोन्नति गरिसकेपछि जसरी अन्य विभागको शुल्क निर्धारण गरिसकेको छ त्यसरी नै गर्नुपर्छ । चार महिनाअघि चार विभागमा लिएको शुल्क घटाउने सहमति गरेको स्मरण गराउँदै अध्यक्ष ऐरले उक्त सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
चार महिनाअघि दोस्रो सेमेन्टरदेखि नै लागू गर्ने सहमति भए पनि कार्यान्वयन नगरी प्रशासन लगाएर धम्की दिने काम भएको उहाँको भनाइ थियो । यसअघि ३४ दिन लामो अनशनपछि शुल्क घटाउने सहमति भएको थियो ।
‘सहमति कार्यान्वयन गर्न धेरैपटक वार्ता छलफल ग¥यांै ध्यानाकर्षणपत्र बुझायौं, अनुरोध ग¥यौं तर कार्यान्वयन भएको छैन । यही विषय जानकारी दिन पटकपटक आग्रह गर्दा बेवास्ता गरेका पदाधिकारीलाई सहमति नगरेसम्म प्रवेश निषेध कायम राख्छौं’ –अध्यक्ष ऐरको भनाइ थियो ।
तालाबन्दी गर्दा पनि माग पूरा गर्न बेवास्ता गर्ने र उपेक्षा गर्ने विश्वविद्यालयमा आफ्ना गतिविधि गर्ने, प्रशासन लगाएर धम्क्याउने गतिविधि गरेपछि प्रवेश निषेधको ब्यानर टाँसेको जिकिर क्रान्तिकारीको छ ।
‘संगठनले बिचौलिया प्रयोग गरी आन्दोलन दबाउने काम ग¥यो, हाम्रो आन्दोलनलाई धावा बोल्ने गतिविधि गर्दैगर्दा आज हामी बाध्य भएर माग पूरा नभएसम्म पूर्ण प्रवेश निषेध गरेका हांै’ –अध्यक्ष ऐरको भनाइ थियो ।
उहाँले आफूहरू वार्तामा आउन तयार रहेको तर पदाधिकारीले सहमति नगरी त्रिवि प्रवेश गर्न नपाउने अडानमा रहेको बताउनुभयो । उहाँले शुल्क दलालहरू प्रवेशमा रोक लगाएको बताउनुभयो ।
यसअघि अनेरास्ववियुु (क्रान्तिकारी) र आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिले जेठ ३० गते तालाबन्दी गरेको थियो । सर्वोच्चले अनिश्चितकालीन तालाबन्दी हुँदा र आचरणविपरीतको त्यस्तो कामकारबाहीलाई विपक्षी प्रहरी, प्रशासन तथा स्वयम् त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनदेखा वा बेवास्ता गर्दा त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरूको पठनपाठन तथा शैक्षिक गतिविधि, अन्य प्रशासकीय कार्य, आवश्यक सेवा सञ्चालन ऐन २०१४ लाग्ने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका स्वास्थ्य सेवामा समेत पर्न जाने नकारात्मक असरलाई मध्यनजर गरी रिट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म तत्काल ताला खोल्न निर्देशन दिएको थियो ।
क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्वशान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएकाले तालाबन्दी गरेको हो ।
यसैबीच शुल्कलगायतका विषयमा अध्ययन गर्न प्राडा डिल्ली पराजुलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा प्रा. धु्रव कार्की र सूर्य थापा सदस्य छन् । बिहीबार बसेको कार्यकारीको बैठकले समिति गठन गरेको हो । समितिले विवादित चार विषयको विषयमा एक हप्ताभित्र र अन्य सबै विषयमा १ महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिएको छ ।
त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले समितिको प्रतिवेदन आएलगत्तै कार्यान्वयन हुने बताउनुभयो । समितिले सबै विभागको शैक्षिक र शुल्क निर्धारण गर्नुपर्ने अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।
वार्तामा आउन आग्रह
त्रिभुवन विश्वविद्यालयले तोकिएको शैक्षिक सत्र (वर्ष) को कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ । शैक्षिक तथा प्राज्ञिक निकायमा हुने तालाबन्दी, हड्ताल, आगजनी र तोडफोडलगायतका गैरप्राज्ञिक गतिविधिले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर पर्ने भन्दै सो आग्रह गरेको हो ।
यसैगरी तोकिएको शैक्षिक सत्रभित्र विद्यार्थीहरूले उपाधि प्राप्त गर्न नसकेमा थप समय र लगानी खर्चनुपर्ने उल्लेख गर्दै विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको शैक्षिक पात्रोअनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रावधान नभएको जनाएको छ ।
त्रिविले महत्वपूर्ण जिम्मेवारीको कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्नु हुन अध्ययनरत विद्यार्थी, शुभेच्छुकहरुमा अनुरोध गरेको छ ।











प्रतिक्रिया