निर्वाचन सुरक्षा प्रभावकारी बनाउन तहगत संयन्त्र स्थापना

केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, केन्द्रीय संयुक्त निर्वाचन सेललगायत सक्रिय


काठमाडौं ।

गृह मन्त्रालयले आगामी फागुन २१ मा हुने आम निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा प्रभावकारी समन्वय गर्न तहगत रूपमा संयन्त्रहरू स्थापना गरेको छ ।

आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न केन्द्रीय सुरक्षा समितिबाट पारित भएको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनालाई अन्तरसमन्वय गर्दै प्रभावकारी रूपमा लागू गर्न विभिन्न संयन्त्रहरू स्थापना गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गृहमन्त्रीको अध्यक्षतामा बनेको केन्द्रीय सुरक्षा समितिका सदस्यहरूमा गृह सचिव, रक्षा सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू तथा गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखा प्रमुख सदस्य सचिव रहनुभएको छ । यसै गरी गृह सचिवको संयोजकत्वमा केन्द्रीय कमान्ड पोस्ट, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा केन्द्रीय संयुक्त निर्वाचन सेल, निर्वाचन सेल, प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलसमेत गठन गरिएको छ ।

गृह प्रवक्त काफ्लेका अनुसार निर्वाचन योजना बमोजिमका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन आवश्यक समन्वय र निर्देशनको लागि केन्द्र, प्रदेश र जिल्ला तहमा विभिन्न संयन्त्रहरू क्रियाशील हुनेछन् । जसअनुसार समग्र समन्वयको काम गृह मन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समितिले गर्नेछ । त्यसै गरी गृह सचिवको संयोजकत्वमा केन्द्रीय कमान्ड पोस्ट गठन हुनेछ । गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा केन्द्रीय संयुक्त निर्वाचन सेल रहनेछ ।

गृह मन्त्रालय तथा सबै सुरक्षा निकायहरूमा निर्वाचन सेल रहनेछन् । प्रदेशस्तरमा प्रदेशको प्रमुख सचिवको संयोजकत्वमा प्रदेश सुरक्षा निकायका प्रमुखहरूसहितको प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल रहनेछन् । जिल्लामा जिल्ला सुरक्षा समिति रहनेछ । यी सबै संयन्त्रहरू क्रियाशील भई कार्य प्रारम्भ गरिसकेका छन् ।

यस्ता छन् सुरक्षा समन्वय संयन्त्र
केन्द्रीय सुरक्षा समिति :
गृहमन्त्रीको अध्यक्षता । सदस्यहरूमा गृह सचिव, रक्षा सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू तथा गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखा प्रमुख सदस्य सचिव ।
केन्द्रीय कमान्ड पोस्ट : गृह सचिवको संयोजकत्व । सदस्यहरूमा नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य र गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सदस्य

केन्द्रीय संयुक्त निर्वाचन सेल : गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा नेपाली सेनाको महासेनानी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सदस्य ।
निर्वाचन सेल : गृह मन्त्रालय तथा सबै सुरक्षा निकायका केन्द्रीय निकायमा, प्रदेश र जिल्लागत कार्यालयहरूमा समेत निर्वाचन सेल रहने ।
प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल : सम्बन्धित प्रदेशको प्रमुख सचिवको संयोजकत्वमा प्रदेश सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य । सो सेलमा प्रदेश राजधानी रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई आमन्त्रण गरिने ।
जिल्ला सुरक्षा समिति– प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य र सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव

यी सबै निकायहरूले तहगत रूपमा समन्वय, सहयोग, सम्पर्क, निर्देशन, सहजीकरण, समस्याको समाधान एवं कार्यसम्पादनको समिक्षा गर्ने प्रवक्ता काफ्ेलेले जानकारी दिनुभयो ।

प्रवक्ता काफ्लेका अनुसार यी सबै संयन्त्रहरू स्थापना भै सक्रियरुपमा कार्य गरिरहेका छन् । शुक्रवारमात्रै गृह सचिवको संयोजकत्वमा रहेको कमान्ड पोस्टको बैठक गृह मन्त्रालयमा बसेको थियो । बैठकमा हालसम्मको निर्वाचनको तयारीका सम्बन्धमा सुरक्षा निकायहरूबाट भइरहेको तयारीका सम्बन्धमा छलफल भएको छ ।

सातै प्रदेशमा सुरक्षा गोष्ठीमार्फत सुरक्षा मजबुत पारियो
यसैबीच गृह मन्त्रालयले निर्वाचनलाई केन्द्रित गरी सातवटै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको छ । ती गोष्ठीहरूमा प्रदेश तथा जिल्लाका सुरक्षा समितिबाट आ–आफ्नो तयारी, समस्या तथा सम्भावित चुनौती सामना गर्न अवलम्बन गरिने रणनीतिका बारेमा प्रस्तुति भएको थियो । यस गोष्ठीहरूबाट बनेका निर्वाचनका लागि बनेका सुरक्षा योजनाहरू कार्यान्वयनमा केन्द्र, प्रदेश र जिल्ला तीनवटै तहको साझा बुझाइ बनेको छ ।

जिल्ला सुरक्षा समितिहरू निर्वाचन गर्नका लागि सबै हिसाबले तयार रहेका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार जिल्लाहरूले मूलतः जनशक्ति र सवारी साधनको र सामाजिक सञ्जालबाट हुनसक्ने जोखिम माग गरेका छन् । उनीहरूको मागबमोजिम जनशक्तिको अन्तर पूरा गर्न निर्वाचन प्रहरीको भर्नाअगाडि बढिसकेको काफ्लेले बताउनुभयो ।

निर्वाचनलाई लक्षित गरी साइबर प्रहरी परिचालन गरिने
गृह मन्त्रालयका अनुसार साइबर अपराध एवं सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणको लागि नेपाल प्रहरीले निर्वाचन साइबर प्रहरी परिचालन गर्नेछ ।

निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अनलाइन तथ्यहीन सूचना, अफवाह र भ्रामक प्रचार प्रसार, सामाजिक सञ्जालमा हुने साईबर अपराध, ह्याकिङ, फेक अकाउन्ट र डिजिटल धाँधली नियन्त्रण गर्न तथा मतदाताको गोपनीयता, डिजिटल सुरक्षा र शान्तिपूर्ण निर्वाचन प्रक्रियालाई सुनिश्चित गर्न सक्रिय रूपमा साइबर प्रहरी परिचालन गर्ने तयारी गरिएको हो । यसका लागि केन्द्रीय कमान्ड पोस्ट, निर्वाचन आयोग, केन्द्रीय निर्वाचन सेलसँग समन्वयको लागि र उपत्यका प्रहरी कार्यालयमा साइबर ब्युरोबाट निर्वाचन साइबर प्रहरी कर्मचारीहरू खटाइनेछ । प्रत्येक प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि साईबर प्रहरी रहनेछन् ।

साईबर प्रहरीले निर्वाचनसँग सम्बन्धित साइबर गतिविधिहरूको निगरानी, विश्लेषण गरी आवश्यक कारबाहीको लागि निर्देशन तथा सिफारिस गर्ने । उनीहरूको सिफारिसबमोजिम आवश्यक अनुसन्धान गरी कारबाही गर्ने गृह प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रीय सुरक्षा समितिबाट पारित भएको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा लागू गर्न विभिन्न संयन्त्रहरू स्थापना गरेका छौं । त्यसले निर्वाचन सुरक्षालाई निकै सुदृढ पार्नेछ

आनन्द काफ्ले प्रवक्ता गृह मन्त्रालय