कास्कीको वर्चोक गाउँका ती भिराला पाखाहरू, जहाँ बिहानको कलिलो घामसँगै एउटा बालकका नाङ्गा खुट्टाहरूले माटो लुछ्दै उकाली–ओराली गर्थे । त्यहीँबाट एउटा यस्तो ऐतिहासिक यात्राको बीउ रोपिएको थियो जसले दशकौँपछि विश्व खेलकुदको मानचित्रमा नेपालको नाम स्वर्ण अक्षरले लेख्नेछ भन्ने कसैले कल्पनासम्म गरेका थिएनन् । सन् १९६१ नोभेम्बर ३ मा पिता पतिराम र माता काली गुरुङको कोखबाट जन्मिएका तुलसीकुमार गुरुङको जीवनकथा केवल एक सफल खेलाडीको विवरण मात्र होइन, यो त एउटा मानिसको फलाम जस्तो दृढ इच्छाशक्ति, कहिल्यै नथाक्ने साहस र आफ्नो जन्मभूमिप्रतिको अगाध प्रेमको एउटा जीवन्त, भावनात्मक र सनसनीपूर्ण गाथा हो ।
अहिले ६४ वर्ष पुग ेपनि तन्नेरी जोशले भरिएका गुरुङ विश्व तेक्वान्दोको सर्वोच्च मुख्यालय ‘कुक्किवोन’ बाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरी अद्वितीय उपलब्धि हासिल गर्ने पहिलो नेपाली बन्ने ऐतिहासिक सौभाग्य पाउनुले उनलाई खेल जगत्को एक जीवन्त ‘लिजेन्ड’ का रूपमा उभ्याएको छ । बाल्यकालमा पोखराका डाँडाकाँडामा शारीरिक स्फूर्तिका कामहरूमा अभ्यस्त गुरुङको जीवनले सन् १९७८ मा एक नयाँ मोड लियो जब १७ वर्षको कलिलो उमेरमा उनी ब्रिटिस गोर्खा सेनामा भर्ती भए । सेनाको कडा अनुशासन र बन्दुकको तालिमबीच उनले पहिलो पटक तेक्वान्दोको दर्शन पाए, जसले उनको जीवनको परिभाषा नै बदलिदियो ।

धेरैका लागि यो केवल रक्षात्मक कला थियो, तर गुरुङका लागि यो जीवन बाँच्ने मन्त्र बन्यो । उनीभित्र यस्तो जादुमयी प्रतिभा र लगन थियो कि सामान्यतया दुई वर्ष लाग्ने ‘ब्ल्याक बेल्ट’ को यात्रा उनले केवल एक वर्षमै पूरा गरे । हङकङको ट्रान्सपोर्ट रेजिमेन्टमा गाडी चलाउनु उनको ड्युटी भए पनि उनको आत्मा भने तेक्वान्दो तालमा नाचिरहन्थ्यो । समाजले ‘बदमासले खेल्ने खेल’ भनेर हेय दृष्टिले हेर्ने समयमा पनि उनले रातको अँध्यारोमा पसिना बगाउँदै, लुकी–लुकी अभ्यास गरेर आफूलाई तिखारे । सन् १९८० मा फिजिकल ट्रेनिङ कोर्समा प्रथम हुँदै उनले आफूलाई प्रमाणित गरेपछि पल्टनभित्रै प्रशिक्षकको रूपमा नयाँ पहिचान बनाए ।
गुरुङको प्रतिभा मार्शल आर्टको घेराभित्र मात्र सीमित छैन । उनी एक बहुमुखी एथ्लिटका रूपमा उदाए । सन् १९८१ को पहिलो राष्ट्रिय खेलकुदमा उनले पौडीतर्फ १०० र २०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेर सारा देशलाई चकित तुल्याए । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको हातबाट पदक थाप्दाको त्यो क्षण उनको जीवनको एक अविस्मरणीय र गौरवपूर्ण अनुभूति थियो । सन् १९८४ को दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पौडीको ४ सय मिटरको रिले स्पर्धामा पहिलो अन्तर्राष्ट्रिय कांस्य पदक दिलाउँदै उनले इतिहास रचे । तर, उनको नसा–नसामा तेक्वान्दोको रगत यसरी बगिरहेको थियो कि उनलाई त्यही माटोले बारम्बार बोलाइरहन्थ्यो । सन् १९८४ मै पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदअन्तर्गत मार्शल आर्ट प्रतियोगितामा एक शक्तिशाली कराँते खेलाडीसँगको उनको त्यो ऐतिहासिक भिडन्त र सशक्त प्रदर्शन आज पनि खेल प्रेमीहरूका लागि एक रोमाञ्चक लोककथा जस्तै बनेको छ ।
हङकङलाई आफ्नो कर्मथलो बनाए पनि गुरुङको मन सधैँ माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराका चिसो हावाहरूमा डुलिरह्यो । सन् १९८३ मा कोपेनहेगनको विश्व च्याम्पियनसिप होस् वा हङकङ राष्ट्रिय च्याम्पियनसिपमा लगातार जितेका स्वर्ण पदकहरू, उनले हरेक प्रहार र हरेक विजयमा आफ्नो देशको झन्डालाई हृदयमा सजाएका थिए । तर, सफलताको सिँढी चढ्दै गर्दा उनको जीवनमा एउटा यस्तो क्षण आयो जसले उनलाई निकै मर्माहत बनायो । सन् १९८६ मा एसियाली खेलकुदका लागि कोरियाको सोल पुगेका तुलसीलाई नागरिकताको प्राविधिक कारणले खेल्न नदिइँदा ‘आई एम सरी’ भन्ने शब्दले उनको सपना चकनाचुर पारिदिएको थियो । त्यो रात कोरियाली माटोमा झरेका उनका आँसुले उनलाई कमजोर होइन, अझ इमानदार र दृढ बनायो । श्रीमती गंगाको सान्त्वना र आफ्नो अटुट साहसका कारण उनी पुनः उठेर खेल जगत्को सेवामा समर्पित भए ।
विदेशी भूमिमा पाएको अथाह मान–सम्मान र सफलताले उनलाई कहिल्यै अहंकारी बनाएन । बरू अझ बढी जिम्मेवार बनायो । सन् २००१ मा हङकङ नेपाली तेक्वान्दो संघको स्थापना गरेर उनले पराइ भूमिमा रहेका नेपालीहरूलाई मात्र जोडेनन्, नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने एउटा दह्रो सेतुको समेत काम गरे । सन् २०१३ मा हङकङ राष्ट्रिय टोलीको ‘हेड कोच’ नियुक्त हुनु कुनै पनि नेपालीका लागि एउटा यस्तो दुर्लभ र प्रेरणादायी उपलब्धि थियो । जसले विश्वलाई नेपालीको क्षमता र रणनीतिक कौशलको अगाडि नतमस्तक हुन बाध्य पा¥यो ।

सन् २०१५ मा ‘तेक्वान्दो हल अफ फेम’ बाट सम्मानित हुनु र सोही वर्ष ८ डान ‘हाई डान’ ग्रान्ड मास्टर बन्नु उनको चार दशक लामो कठोर तपस्याको प्रतिफल थियो । वर्ष २०२४ को डिसेम्बरमा दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डानको उपाधि प्राप्त गरेपछि तुलसी कुमार गुरुङ केवल खेलाडी र प्रशिक्षक मात्र रहेनन्, उनी नेपाली खेलकुदको एक सर्वोच्च नक्षत्र बनेका छन् । यो उपलब्धि प्राप्त गर्नु भनेको मार्शल आर्टको दुनियाँमा विद्यावारिधि गर्नु सरह हो, जुन कठोर अनुशासन र समर्पणबिना असम्भव छ । तर, यति धैरे अन्तर्राष्ट्रिय ख्याति र उपलब्धिका बाबजुद तुलसीको हृदय आज पनि आफ्नै गाउँ–ठाउँको माटोमा लत्पतिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि भूकम्प पीडितको घाउमा मलम लगाउन स्थापना गरिएको ‘वी वील राइज फाउन्डेसन’ (हामी उठ्नेछौँ) का संस्थापक अध्यक्षका रूपमा उनले गरेको सामाजिक कार्यले उनको मानवीय पक्षलाई अझ उच्च बनाएको छ । उनले पोखरामा निर्माण गरिरहेको ‘फिट नेपाल स्पोट्र्स प्लेक्स’ केवल एउटा आधुनिक भवन मात्र होइन, यो त भोलिका ओलम्पियनहरू र अनुशासित नागरिक जन्माउने एउटा पवित्र पाठशाला पनि हो । “मैले जे पाएँ, यही देशबाट पाएँ र अब मैले जे दिन्छु, यही देशलाई नै दिनेछु” भन्ने उनको मुटु छुने भावना हरेक नेपालीको लागि उर्जाको स्रोत बनेको छ । आफ्नो व्यक्तिगत सुख र हङकङको विलासी जीवनको प्रलोभनलाई त्यागेर नेपाली खेलकुद र समाजसेवामा उनले देखाएको यो महान् त्याग साँच्चिकै अनुकरणीय छ ।
आज तुलसी कुमार गुरुङ एक यस्तो नाम हो, जसले अभावका बीचमा हुर्किएका नेपाली युवाहरूलाई ठूला सपना देख्न र ती सपना पूरा गर्न अथक मिहिनेत गर्न सिकाउँछ । वर्चोकको पहाडबाट सुरु भएको एउटा सामान्य केटोको यात्रा विश्व तेक्वान्दोको सर्वोच्च उँचाईसम्म पुग्नुले के प्रमाणित गर्छ भने, यदि मनमा इमानदारिता र कर्ममा दृढता छ भने संसारको कुनै पनि शिखर टाढा हुँदैन । उनी केवल तेक्वान्दोका ग्रान्ड मास्टर मात्र होइनन्, उनी आशाका संवाहक, अनुशासनका प्रतिमूर्ति र राष्ट्रिय गौरवका प्रतीक हुन् । एउटा यस्तो नक्षत्र, जो नेपाली खेलकुदको आकाशमा सधैँ चम्किरहनेछ र आउने पुस्तालाई साहस, धैर्य र निस्वार्थ राष्ट्रप्रेमको पाठ पढाइरहनेछ ।











प्रतिक्रिया