टारीमा खेल मैदानका लागि २३ लाख जुटाएर जग्गा खरिद


धनकुटा ।

छथर जोरपाटी–१ हात्तीखर्कका युवाले खेल मैदान निर्माणका लागि २३ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरी साढे ६ रोपनी जग्गा खरिद गरेका छन्। सात महिनादेखि चलिरहेको सहयोग संकलन अभियानपछि टारीमेला खेलकुद विकास समितिले जग्गा खरिद गरेको हो।

समितिका सदस्य भीमराज लिम्बुले स्थानीय बासिन्दा, खेलाडी, पूर्वखेलाडी र विदेशमा रहेका युवाबाट सहयोग संकलन गरिएको बताए। गगन कटवालले १ लाख ५१ हजार, सुवास तिगेलाले १ लाख २० हजार, आनन्द लिम्बुले १ लाख ११ हजार र समिर लिम्बुले १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।

छथर जोरपाटी गाउँपालिकाले पनि जमिन सम्याउने कामका लागि १ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको थियो। समितिले चरणबद्ध रुपमा खेल पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ। हाल टारी खेल मैदानमा अन्तरवडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता र महिला फुटबल खेल सञ्चालन भइरहेको छ।