काठमाडौं ।
“सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत सातौं दिन काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार मात्र १९ हजार ८ सय १४ जना सडक प्रयोगकर्ता विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन्। यात्रु, पैदलयात्री, चालक, विद्यार्थी, यातायात मजदुर, स्वयंसेवक र प्रहरी कर्मचारीलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिएको हो।
आजको कार्यक्रमअन्तर्गत ४ हजार ४ सय ७६ जना यात्रु तथा पैदलयात्रीलाई सुरक्षित रूपमा जेब्राक्रसिङ प्रयोग गर्ने तरिका सिकाइएको छ। त्यस्तै, ३ हजार ९ सय १० जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिइएको छ। रात्रीकालीन सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै १ हजार ८ सय ९० जनालाई विशेष रात्रीकालीन सचेतना प्रदान गरिएको छ। २ सय ६० जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ भने १ हजार २ सय जना प्रभातफेरी कार्यक्रममा सहभागी भएका छन्।
सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा ५ सय ६९ जनाको सहभागिता रहेको थियो। त्यस्तै, ६५ जना चालकको लागुपदार्थ सेवन जाँच गरिएको छ भने ४ सय ७० जनालाई सरप्राइज चेकिङमार्फत सचेतना दिइएको छ। निषेधित स्थानमा पार्किङ गर्ने ३ सय ७५ जनालाई ट्राफिक सचेतना दिइएको छ।
१ सय २७ जना यातायात मजदुर, १ सय जना अन्तरक्रियात्मक कार्यक्रममा सहभागी र २ सय जना ‘रोड ट्राफिक एक्सिडेन्ट सिमुलेसन’ कार्यक्रममा समावेश भएका छन्। मादक पदार्थ सेवन, लेन उल्लङ्घन, रातो बत्ती र तीव्र गतिमा सवारी चलाउने २ सय २४ जनालाई सचेतना कक्षा सञ्चालन गरिएको छ।
साथै ६ सय ७१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। अभियानका क्रममा १० हजार ८ सय ४ जनालाई पर्चा–पम्प्लेट वितरण गरिएको छ भने ‘No Horn’, ‘No Drink and Drive’, ‘Drug Use is Harmful’, ‘Lane’, ‘Over Speed’ र ‘Red Light’ सम्बन्धी ३ हजार ३१ वटा स्टिकर टाँस गरिएको छ।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ गत २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। सानो लापरबाहीले ठूलो दुर्घटनाको रूप लिन सक्ने यथार्थलाई आत्मसात् गर्दै सुरक्षित सडक संस्कारको विकास र जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको उहाँको भनाइ छ।











प्रतिक्रिया