क्यानडा पठाइदिने भन्दै दुई लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं ।

आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। रोजगारीका लागि क्यानडा लैजाने आश्वासन दिई लामो समयसम्म पीडितलाई झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा ठगीमा संलग्न व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्दै आएका ३४ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन्। उनले क्यानडा पठाइदिने भन्दै पीडितबाट दुई लाख रुपैयाँ ठगी गरेको खुलेको छ। प्रहरीका अनुसार श्रेष्ठले वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई रकम असुलेर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन बनेका थिए।

उनीविरुद्ध थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीबाट जोगिन सम्बन्धित सरकारी निकायबाट मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।