नेता खड्काले प्रतिनिधि सभा सिफारिस सूचीबाट नाम हटाउन माग


काठमाडौँ ।

नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम हटाउन माग गरेका छन्।

खड्काले नेपाली कांग्रेस केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र लेखेर आफूले प्रस्तावित सूचीमा परेको नाम हटाइदिन अनुरोध गरेका हुन्। उनले पत्रमा केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई आफ्नो अनुरोधको जानकारी गराइदिन समेत आग्रह गरेका छन्।

खड्काले पत्रमा उल्लेख गरेका छन्, “नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य २०८२ का लागि उम्मेदवारहरूको प्रस्तावित सूचीमा मेरो नाम राखिएकोमा, मेरो नाम सो सूचीबाट हटाइदिनु हुन अनुरोध गर्दछु।”