कालीकोटमा जीप दुर्घटना: तीन जनाको मृत्यु


काठमाडौं ।

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी–पान्तडी सडकमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर करिब ५०० मिटर तल तिला नदी किनारामा खसेको हो।

दुर्घटनामा दैलेख आठबिस नगरपालिकाका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र शुभकालिका–२ का सहचालक नवराज शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरू सेरी–पान्तडी सडक निर्माण कार्यमा संलग्न थिए।

प्रहरीका अनुसार तीनै जनाको शव उद्धार गरी परीक्षणका लागि सदरमुकाम लैजाने तयारी गरिएको छ। जिप चालक प्रहरीको सम्पर्कमा आएको र घटनाबारे सोधपुछ जारी रहेको जनाइएको छ।