अपाङ्गता भएका व्यक्तिको हेरचाहका लागि मन्त्रालयद्वारा पाँचदिने तालिम सम्पन्न


काठमाडौँ।

अपाङ्गता भएका व्यक्तिको हेरचाहका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अभिभावक तथा संरक्षकलाई पाँचदिने तालिम दिएको छ ।

पोखराको लेकसाइडस्थित माई होटलमा पुस २६ देखि ३० गतेसम्म उक्त तालिम दिइएको थियो । तालिममा गण्डकी प्रदेशभित्रका २५ जना बौद्धिक अपाङ्गता, अटिजम तथा श्रवण–दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिका अभिभावक तथा संरक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

परिवारका सदस्य र संरक्षकलाई हेरचाहसम्बन्धी आधारभूत सीप प्रदान गरी अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । अपाङ्गतासम्बन्धी आधारभूत जानकारी, वैयक्तिक अधिकार, हेरचाह र व्यक्तिगत सहयोगीको भूमिका, सञ्चार सीप, सहायक सामग्रीको प्रयोग, सामाजिक र जीवनोपयोगी सीप, थेरापी सेवा, विपद् पूर्वतयारी, हिंसा तथा विभेदजस्ता विषयमा प्रशिक्षण दिएको उपस्थित विज्ञले बताएका छन् ।

‘यस्ता तालिमहरु बेलाबेलामा आयोजना गरिरहनु पर्छ । यसले गर्दा अपाङ्गता भएका व्यक्तिको हेरचाह कसरी गर्नुपर्छ भन्नेमा स्पष्ट भइन्छ र राम्रोसँग हेरचाह गर्न सकिन्छ ।’ उपस्थित अभिभावक विजय पौडेलले बताए । तालिम अत्यन्त प्रभावकारी भएको उनले बताए । प्रशिक्षकको तर्फबाट टिकराम सापकोटाले मन्त्रालयले आफ्नै स्वामित्व र व्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्दा नतिजामूलक भएको धारणा व्यक्त गरेका छन् ।

उक्त तालिममा उपस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ आगामी दिनमा पनि मन्त्रालयले यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएकी छन् । ‘अपाङ्गता भएका व्यक्तिको हेरचाह राम्रोसँग गर्नुपर्छ । तर, हामीलाई कसरी हेरचाह गर्ने भन्नेबारे केही थाहा नभएको हुन सक्छ । जसले गर्दा हेरचाह नै राम्रोसँग हुँदैन । त्यसैले गर्दा पनि यसबारे सबैलाई जानकारी हुनुपर्छ । सबैले विरामीको हेरचाह राम्रोसँग गर्नुपर्छ भनेर नै यस्तो कार्यक्रम आयोजना गरिएको हो ।’ उनले बताइन् । यसका सार्थ देशभर एकरूप अपाङ्गता परिचयपत्र प्रणाली लागू गरिने नीति अघि बढाउने प्रतिवद्धता जनाएकी छन् । साथै, मन्त्री श्रेष्ठले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने दायित्व राज्य, परिवार र समाज सबैको साझा भएको बताउँदै, सबैले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन्।