आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्छौँ : पूर्णबहादुर खड्का


काठमाडौँ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सो निर्णयविरुद्ध राजनीतिक तथा कानुनी दुवै लडाइँ लड्ने प्रतिक्रिया दिएका छन्।

निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले विशेष महाधिवेशन पार्टी विधानविपरीत भएको दाबी गर्दै त्यसलाई मान्यता दिनु आपत्तिजनक भएको बताए। उनले आयोगको निर्णयलाई अमान्य ठहर गर्दै सर्वोच्च अदालत जाने संकेतसमेत गरे।

खड्काले निर्वाचन आयोगको निर्णयलाई षड्यन्त्रपूर्ण र विगतमा स्थापित नजिरविपरीत रहेको आरोप लगाए। उनले भने, ‘निर्वाचन आयोगले एक पक्षको दाबीअनुसार निर्णय गरेको छ। संस्थापन पक्ष यसलाई स्वीकार गर्दैन। हामी राजनीतिक रूपमा पनि र कानुनी रूपमा पनि प्रतिवाद गर्छौं।’

उनका अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेस केन्द्रीय कार्यसमिति यथावत् छ। निर्वाचन आयोगले आधिकारिक सभापति र केन्द्रीय समितिलाई एकपटक पनि नबोलाई निर्णय गर्नु प्रक्रिया र विधान दुवैको उल्लङ्घन भएको उनले बताए।