लमजुङ।
लमजुङ–मनाङ सडक अन्तर्गत बेसीशहरको पुमा खोलामा रहेको बेली ब्रिज जोखिम अवस्थाम पुगेको छ । क्षमताभन्दा बढी भार भएका सवारी साधन नियमित सञ्चालन हुँदा पुल जिर्ण र जोखिम अवस्थामा पुगेको हो ।
बेसीशहर नगरपालिका वडा नम्बर ६ र ७ को सिमा रहेको पुमाखोला माथिको उक्त बेलिब्रिज क्षमता १८ टन रहेको छ तर उक्त सडकमा सो भन्दा बढी भार क्षमताका सवारी साधनहरु दिनहुँ संचालन हुँदै आएका छन् । पुलको क्षमताभन्दा बढी भार क्षमताका सवारी साधन निरन्तर आवतजावतका कारण पुल चर्किएको र धरासायी अवस्थामा पुगेको स्थानिय गणेश गुरुङले बताए ।
बेसीशहर चामे सडक अन्तर्गत ठूला मालबाहक सवारीसाधनका लागि वैकल्पिक सडक पनि रहेको छ । बेसीशहरको मनाङगे चौतारादेखि सहजी हुँदै ठूला सवारी साधन सचालनका लागि कच्ची सडक भएपनि प्राय सो सडकमा सवारी साधन कमै गुड्ने गरेका छन् ।

वैकल्पिक सडकको व्यवस्था हुँदाहुँदै जिर्ण पुलको बाटो भएर ठूला सवारी संचालन नगर्न पटक पटक अनुरोध गरीएपनि व्यवहारिक कार्यन्वयन नभएको डुम्रे बेसीशहर चामे सडक योजनाले जनाएको छ । जिर्ण पुल जोखिम सम्भाव्यतालाई ख्याल गर्दै १८ टन भन्दा कम क्षमता भएका सवारी साधनलाई मात्र सो पुलको बाटो प्रयोग गर्न आग्रह गरीएको सडक योजना कार्यालय प्रमूख सतिस सुवेदिको भनाई छ ।
कार्यालयका अनुसार सहजी तर्फको सडक अन्तर्गत पुमा खोलामा पक्की पुल निर्माणको तयारी छ । यद्यपी काम भने शुरु हुन सकेको छैन । हिउदको समयमा बैकल्पिक सडक प्रयोग गर्न सक्ने अवस्था भएपनि मोटरेवल पुल नहुँदा बर्षाको समयमा भने कठिन रहेको छ ।
सदरमुकाम बेसीशहरदेखि जिल्लाको उत्तरी भेग हुँदै मनाङ सम्म पुग्ने सवारी साधनका लागि एकमात्र सडक भएकोले उक्त सडकमा समयमै पक्की पुल निर्माण गरिनुपर्ने सरोकारवालाहरुको माग छ । हाल भएको पुल बैकल्पिक सडक भएकोले दिर्घकालिन व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।











प्रतिक्रिया